Logo

मुख्य समाचार

गोरखाबाट राष्ट्र निर्माणको नयाँ थालनी गर्न आफू गोरखा आएको प्रचण्डको दावी


२५ कार्तिक २०७९, शुक्रबार  

368
Shares

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मंसिर ४ मा हुने निर्वाचन विकास र शान्तिलाई अघि बढाउने र त्यसलाई रोक्नेबीचको जनमत संग्रह भएको बताएका छन् ।

गोरखाको जौबारीमा शुक्रबार बिहान आयोजित चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले परिवर्तनका पक्षधर र विरोधीबीचको लडाईं भएकाले परिवर्तनका पक्षधरले जित्नुपर्ने बताए । उनले गोरखाबाट राष्ट्र निर्माणको नयाँ थालनी गर्न आफू गोरखा आएको भन्दै राष्ट्रिय एकताका साथै विकास र सम्बृद्धिको भुमिका पनि गोरखाले खेल्नेमा आफू विश्वस्त रहेको बताए ।

‘मंसिर ४ गते जनमत संग्रह हुदैछ । एकथरी मान्छेहरु अर्को गठबन्धन बनाएर राजालाई फेरि फिर्ता ल्याउनुपर्छ भन्नेपनि छन्’, अध्यक्ष प्रचण्डले भने, ‘हामी यो संविधानको रक्षा गरेर अघि बढ्ने पक्षमा छौ । राष्ट्रलाई अघि बढाउन चाहने, शान्तिलाई अघि बढाउन चाहने, विकास र सम्मृद्धितिर देशको नेतृत्व गर्न चाहनेहरुको गठबन्धन छ भने अर्कातिर यसलाई उल्ट्याउन चाहनेको छ । देशलाई फेरि अराजकता, निरंकुशता, सामन्तवाद र अध्यारोतिर लैजानेको बीचमा जनमत संग्रह हुँदैछ ।’

उनले अहिले लोकतन्त्र, शान्ति र संविधान जोगाउन यो पनि गठबन्धनलाई विजयी बनाउनुपर्ने आवश्यकता रहेको बताए । पुर्व प्रधानमन्त्री समेत रहेका प्रचण्डले गोरखा जिल्लाबाट राजनीतिक दलहरुबीचको एकता सुदृढ छ भनेर सावित गर्नुपर्नेमा पनि जोड दिए ।

उनले निर्वाचनपछि प्रदेश सरकार र केन्द्र सरकार बनाउन जाँदा गोरखाली जनताको एकताको शक्तिसहित जाँदा नै विकास निर्माणलाई गति दिन सजिलो हुने बताए । उनले नेपाली कांग्रेस र माओवादी हिजो युद्धमा आमनेसामने र चुनावमा पनि तछाडमछाड गरेका शक्ति भएको भन्दै त्यस्तै शक्तिबीच आपसमा मिल्दा मात्रै शान्ति साम्झौताको अर्थ हुने दावी गरे ।

प्रकाशित मिति : २५ कार्तिक २०७९, शुक्रबार  १० : ३८ बजे