Logo

विशेष

ठूला दलका पुरानै घोषणापत्र



यतिबेला नेपालका ठूलाठूला दलले प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचन–२०७९ मङ्गसिर ४ मा हुने निर्वाचनका लागि आ–आफ्नो घोषणापत्र तथा प्रतिबद्धतापत्र जारी गरी सकेका छन् ।घोषणापत्र सार्वजनिक गर्न होडबाजी नै चलेको थियो । सोही अवसरमा नेपाली कांग्रेस पार्टीले कार्तिक १२ गते शनिबार आफ्नो घोषणापत्र सार्वजनि गर्‍यो । नेपाली कांग्रेसको संकल्प पत्र ‘संविधानको रक्षा स्थायित्व र समुन्नतिको आधार, नेपाली कांग्रेसको नेतृत्वमा अबको सरकार’ निरन्तरतामा नविनता नारासहित नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले सार्वजनिक गरेका थिए । जसमा नेपाली कांग्रेसले ३ बर्षमुनिका बालबालिका र ७३ बर्षमाथीका जेष्ठ नागरिकलाई नि:शुल्क उपचारको व्यवस्था गरेको छ । ६५ बर्ष माथिका जेष्ठ नागरिक, अपांगता भएका व्यक्ति, अति विपन्न, अशक्त, एकल महिला, महिला तथा स्वास्थ्य स्वयंसेवीकालाई नि:शुल्क बिमा गर्ने समेत बताएको छ ।

त्यसैगरी नेकपा माओवादी केन्द्रले पनि ‘समाजवादको आधार तयार गर्ने’ योजनासहित घोषणापत्र सार्वजनिक गरेको हो । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कार्तिक १४ गते सोमबार सार्वजनिक गरेका हुन । घोषणापत्रमा माओवादीले गुणस्तरीय शिक्षा, स्वास्थ्य, रोजगारी, प्राविधिक शिक्षामा जोड दिने उल्लेख गरेको छ ।

बद्ढो व्यापारघाटा न्यूनीकरण गर्न कृषि क्षेत्रमा उत्पादन बढाउन लगानीमैत्री वातावरण निर्माण गर्ने, कृषि क्षेत्रमा प्रविधिको प्रयोगलाई बदवा दिने र जनशक्तिको यथोचित प्रयोग गरेर उत्पादन वृद्धि गर्ने विषय पनि घोषणापत्रमा समेटिएको छ ।माओवादीले ३३ वटा महत्त्वपूर्ण प्रतिबद्धता समेत जारी गरेको छ ।

साथै नेकपा एमालेले पनि आफ्नो पार्टीको चुनावी घोषणापत्र सार्वजनिक गरेको छ । ‘समृद्ध नेपाल, सुखी नेपाली’ भन्ने नारालाई आत्मसात गर्दै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कार्तिक १५ गते मङ्गलबार सार्वजनिक गरेका हुन । गरिबको जनस्तर उकास्ने तथा धेरै पटक भन्दै आएको ‘भोकै पर्दैन, भोकले कोही मर्दैन’ भन्ने उद्गार एमालेको घोषणापत्रमा समावेश भएको छ ।एमालेले आफ्नो घोषणापत्रमा २० ग्यारेन्टी पाँच बर्ष–एमालेले गर्छ भन्ने कुरा समेत उल्लेख गरेको छ ।

नेपालका यी ठुला दलहरुको चुनावी घोषणापत्र हेर्दा धेरै पुराना एजेन्डा नै दोहोर्‍यायीको देखिन्छ ।लामो समय देखि सत्ता सञ्चालन गर्दै आएका नेपालका ठूला दल नेपाली कांग्रेस, नेकपा एमाले तथा नेकपा माओवादी केन्द्रले धेरै कुरा पहिलेकै चुनावका एजेन्डा अगाडि बढाएको राजनीति विश्लेषकहरूको टिप्पणी रहेको छ । साथै अन्य ससाना दलहरूले समेत आफ्नो घोषणापत्र सार्वजनिक गरेका छन् । यी सबै दलका एजेन्डाले साच्चिकै सार्थकता पाउँछ कि पाउँदैन? त्यो भने मङ्सिर ४ गतेको चुनावले पकै निचोड दिनेनै छ ।

प्रकाशित मिति : १७ कार्तिक २०७९, बिहिबार  ९ : ०६ बजे