Logo

मुख्य समाचार

आज डडेल्धुरा जाँदै प्रधानमन्त्री देउवा, आजै चुनावी सभा


१७ कार्तिक २०७९, बिहिबार  

506
Shares

काठमाडौं । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा आज बिहीबार गृहजिल्ला डडेल्धुरा जाँदैछन् ।

प्रतिनिधिसभा निर्वाचनका लागि मनोनयन पनि वारेसमार्फत गराएका देउवा मनोनयन दर्तापछि चुनावी प्रचारका लागि पहिलो पटक गृहजिल्ला जान लागेका हुन् । बुधबार कैलालीको धनगढी पुगेका उनी आज दिउँसो साढे १२ बजे डडेल्धुराको अमरगढीमा हुने चुनावी सभालाई सम्बोधन गर्नेछन् ।

देउवा चार दिन डडेल्धुरामा रहनेछन् ।

उनको निजी सचिवालयका अनुसार देउवाले शुक्रबार बिहान साढे ११ बजे नवदुर्गा गाउँपालिका बेलापुर खुनी, सोही दिन दिउँसो सवा २ बजे गन्यापधुरा गाउँपालिका बडालमा चुनावी सभालाई सम्बोधन गर्ने छन् ।

कात्तिक १९ गते बिहान ११ बजे अजयमेरू गाउँपालिका भद्रपुर, दिउँसो २ बजे भागेश्वर गाउँपालिका रूपालमा हुने आमसभामा देउवा पुग्नेछन् ।

देउवाले कात्तिक २० गते बिहान ११ बजे आलिताल गाउँपालिका गोदाम र दिउँसो २ बजे परशुराम नगरपालिका जोगबुढामा हुने चुनावी सभालाई सम्बोधन गर्ने कार्यक्रम छ ।

उनी कात्तिक २० गते काठमाडौँ फर्केर त्यसपछि सातै प्रदेशमा हुने आमसभाका लागि देउवा पुग्ने कार्यक्रम छ । देउवालाई चुनावी प्रचारमा हेलिकोप्टर प्रयोग गर्न निर्वाचन आयोगले अनुमति दिइसकेको छ ।

डडेल्धुरामा देउवासँग कांग्रेस बिपीबाट कर्णबहादुर मल्ल तथा स्वतन्त्रबाट सागर ढकाल, विक्रम शाही, लाल कठायत र कर्णसिंह रावलसहितका उम्मेदवार भिड्दैछन् ।

प्रकाशित मिति : १७ कार्तिक २०७९, बिहिबार  ८ : ११ बजे