Logo

Breaking News 1

आज काग तिहार



काठमाडौं । आज कार्तिकृष्णपक्ष त्रयोदशी तिथि अर्थात् आजबाट सनातनीको दोस्रो ठूलो चाड तिहार सुरु भएको छ । आज कागतिहार हो । सूचनाको संवाहक कागलाई पूजा गरेर दिन हो । आजको दिन बिहान हरेक घरमा कागलाई खान दिने चलन रहेको छ ।

यमराजले लोकको खबर कागका माध्यमबाट थाहा पाउने भएकाले कागलाई यमदूतका रुपमा मान्ने शास्त्रीय विधान छ । कागले यमराज समक्ष राम्रो खबर लगिदियोस् भनेर आजका दिन कागलाई मीठो–मीठो खान दिई खुसी पार्ने गरिएको हो ।

लोक व्यवहारमा काग घरमा आई कराएमा शुभ बोल, शुभ बोल भनी भन्ने प्रचलन समेत रहेको छ । काग घर वरपर आई कराएमा उसले केही खबर लिएर आएको विश्वाससमेत गर्ने गरिन्छ ।

आज कागेश्वरी मनोहरा नगरपालिकास्थित कागेश्वरी महादेव मन्दिरमा विशेष पूजा आराधना हुने गर्छ। हनुमानढोकास्थित कागेश्वरी मन्दिरमा पनि कागको विशेष पूजा आराधना गरिन्छ ।

कात्तिककृष्ण चतुर्दशीका दिन कुकुर तिहार, कात्तिक कृष्ण औंसीका दिन लक्ष्मीपूजा, कात्तिक शुक्ल प्रतिपदाका दिन गाईपूजा, गोवर्द्धन पूजा, नेपाल संवत् र म्हपूजा (आत्मपूजा) एवं अन्तिम दिन कात्तिक शुक्ल द्वितीयाका दिन भाइटीका लगाई तिहार पर्व मनाइन्छ ।

प्रकाशित मिति : ६ कार्तिक २०७९, आइतबार  ६ : ४८ बजे