Logo

मुख्य समाचार

रुपन्देही २ का उम्मेदवार राजु गुरुङको रिटमा आज सुनुवाइ हुँदै



काठमाडौं । रुपन्देही क्षेत्र नम्बर २ का उम्मेदवार राजु गुरुङको उम्मेदवारी खारेज विरुद्धको रिटमा आइतबार सुनुवाइ हुँदै छ । शुक्रबार वादी पक्षबाट हटाइएको रिट आइतबार पेसी सूचीमा चढेको छ ।

सत्ता गठबन्धनको साझा उम्मेदवार रहेका एकीकृत समाजवादी पार्टीका नेता राजु गुरुङ कर्जा सूचना केन्द्रको कालोसूचीमा परेको भन्दै निर्वाचन अधिकृत उदवीर नेपालीले उनको उम्मेदवारी खारेज गरिदिएका थिए । तर गुरुङले भने आफू कर्जा सूचना केन्द्रको कालोसूचीमा परेको नभई आफू सेयर सदस्य रहेको संस्थामात्रै कालोसूचीमा परेकाले आफ्नो उम्मेदवारी कायम हुनुपर्ने माग गर्दै बिहीबार सर्वोच्च अदालतमा रिट दर्ता गराएका थिए ।

निर्वाचन निर्देशिकामा कालोसूचीमा परेको व्यक्ति उम्मेदवार बन्न नसक्ने कुरा उल्लेख छ । तर आफू कालोसूचीमा नपरेको र निर्देशिका समेत ऐनसँग बाझिएको भन्दै गुरुङले आफ्नो उम्मेदवारी कायम रहनुपर्ने भन्दै रिट निवेदन दर्ता गराएका थिए । निर्वाचन अधिकृतको कार्यालयले गरेको उम्मेदवारी खारेजको निर्णय उत्प्रेषणको आदेशबाट बदर गरी उम्मेदवारी कायम राख्न माग गर्दै उनी अदालत पुगेका थिए ।

प्रकाशित मिति : ३० आश्विन २०७९, आइतबार  १० : ३१ बजे