Logo

मुख्य समाचार

प्रतिनिधिसभाका लागि एक्लै चुनाव लड्ने बैतडी कांग्रेस निर्णय


११ आश्विन २०७९, मंगलबार  

4.1k
Shares

काठमाडौं । नेपाली कांग्रेस बैतडीले प्रतिनिधिसभाको टिकट कांग्रेसलाई दिनुपर्ने अडान दोहोर्‍याएको छ । सोमबार काठमाडौँमा बसेको जिल्ला कार्यसमिति बैठकले प्रतिनिधिसभाको टिकट कांग्रेसलाई नै दिनुपर्ने निष्कर्ष निकालेको हो ।

जिल्ला सभापति चतुरबहादुर चन्दको अध्यक्षतामा बसेको बैठकले जनमतका आधारमा संघीय सांसदको लागि गठबन्धन दलहरूका तर्फबाट कांग्रेसले टिकट पाउनु पर्ने र अन्यथा मित्रवत प्रतिस्पर्धा गर्ने निर्णय भएको कांग्रेसका जिल्ला सचिव देवराज जोशीले बताए ।

संघमा कांग्रेसलाई टिकट दिनुपर्ने निर्णयका बारेमा नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति र गठबन्धन कार्यदलमा कांग्रेसबाट प्रतिनिधित्व गर्ने सदस्यहरुलाई जानकारी गराइएको सचिव जोशीले बताए । यस्तै प्रतिनिधि सभा र प्रदेश सभाको समानुपातिक सूचीमा बैतडीबाट प्रतिनिधित्व हुनुपर्ने माग गरिएको छ ।

महिला, खस–आर्य, दलित सबै कोटामा बैतडीबाट पनि प्रतिनिधित्व हुनुपर्ने माग गरिएको हो । बैठकमा काठमाडौँमा उपलब्ध जिल्ला कार्यसमितिका पदाधिकारीका लगायत अन्य नेता कार्यकर्ताको सहभागिता रहेको थियो । गठबन्धन दलहरुबीच कसले टिकट पाउने भन्ने निर्णय नभइ सकेको अवस्थामा बैतडी कांग्रेसको यस्तो निर्णय बाहिर आएको हो ।

प्रकाशित मिति : ११ आश्विन २०७९, मंगलबार  ९ : ३५ बजे