Logo

मुख्य समाचार

जबरालाई सर्वोच्च छिर्न नदिने नेपाल बारको घोषणा



काठमाडौं । नेपाल बार एशोसिएसनले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरालाई सर्वोच्च अदालतको गेटबाट भित्र प्रवेश गर्न नदिने निर्णय गरेको छ ।

आज बिहान बसेको एशोसिएसनको आकस्मिक बैठकले जबरालाई सर्वोच्च प्रवेशमा रोक लगाउने निर्णय गरेको हो । बैठकपछि नेपाल बार एशोसिएसनका अध्यक्ष गोपालकृष्ण घिमिरेले भने, ‘यसअघि झैं हामीले सर्वोच्च अदालत परिसरमा शान्तिपूर्ण प्रदर्शन गर्छौं, जबरा भित्र पस्ने कुरा कल्पना पनि गर्न सकिंदैन ।’

निलम्बित प्रधानन्यायाधीश जबराले शनिबार अपराह्न कायम मुकायम मुख्य रजिष्ट्रार नारायण पन्थीलाई फोन गरेर आफू सर्वोच्च अदालत फर्किने बताएका थिए । प्रतिनिधि सभाको कार्यकाल सकिएकाले आफूविरुद्धको महाअभियोग प्रस्ताव पनि निस्तेज भएको तर्क गर्दै जबरा सर्वोच्च फर्किन लागेको स्रोतको भनाइ छ । लगत्तै पन्थीले सर्वोच्च अदालतको नेतृत्व लगायतलाई यसको जानकारी गराएका थिए ।

यो खबर सार्वजनिक भएपछि नेपाल बारले आज आकस्मिक बैठक डाकेको थियो । आकस्मिक बैठकले जबरा सर्वोच्च अदालत आउने प्रयास गरेमा गेटमै शान्तिपूर्ण प्रदर्शन गर्ने र उनलाई भित्र छिर्न नदिने घोषणा गरेको हो ।

कायम मुकायम प्रधानन्यायाधीश दीपक कुमार कार्की लगायतका न्यायाधीशहरु भने सर्वोच्च अदालत भित्र छिरिसकेका छन् ।

याे पनि…

चोलेन्द्र सर्वोच्च अदालत फर्किने, अदालत क्षेत्रमा सुरक्षा सतर्कता बढाइयो

प्रकाशित मिति : २ आश्विन २०७९, आइतबार  ११ : ०८ बजे