Logo

Breaking News 1

लीको सवारीका कारण आज पनि सर्वसाधरणलाई सास्ती



काठमाडौं । नेपाल भ्रमणमा रहेका चिनियाँ राष्ट्रिय जनकंग्रेसका अध्यक्ष ली चान्सुको सवारीका कारण आज पनि काठमाडौं उपत्यकाको सवारी आवागमन प्रभावित हुने भएको छ । ली नेतृत्वको टोलीले आज राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गर्ने भएको छ । राष्ट्रपति भण्डारीसँग दिउँसो भेटवार्ता गर्ने तालिका छ ।

त्यसअघि लीले भक्तपुर दरबार स्वायर अवलोकन गर्ने तालिका छ । उहाँ भक्तपुर जाने समय बिहान ९ बजे रवि भवन, सोल्टी होटल, कालीमाटी, त्रिपुरेश्वर, थापाथली, माइतीघर मण्डला, नयाँ बानेश्वर, तीनकुने, कोटेश्वर, जडीबुटी, लोकन्थली, राधेराधे, सल्लाघारी, सैनिक आवासीय विद्यालय, कालोपाटी व्यासीलगायत क्षेत्रमा गाडीको आवागमन प्रभावित हुनेछ । उनी फर्कने समयमा पनि यी रुटमा गाडीको आवागमन प्रभावित हुनेछ ।

यस्तै, भक्तपुरको भ्रमण सकेर उनले दिउँसो साढे ३ बजे राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गर्नेछन् । यो समयमा रविभवन, कालीमाटी, त्रिपुरेश्वर, महाङ्काल, जमल, केशरमहल, लैनचौर, पानीपोखेरी हुँदै शीतल निवास क्षेत्रमा गाडीको आवागमन प्रभावित हुने महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । यो समयमा यी रुटमा चल्ने गाडीलाई वैकल्पिक बाटो प्रयोग गर्न प्रहरीको आग्रह छ ।

लीको सवारीका कारण हिजो र अस्ति पनि काठमाडौं उपत्यकामा ट्राफिक व्यवस्थापन अस्तव्यस्त भएको थियो । ट्राफिक व्यवस्थापन अस्तव्यस्त हुँदा सर्वसाधरणले सास्ती भोग्नु परेका छ ।

 

प्रकाशित मिति : २९ भाद्र २०७९, बुधबार  ९ : २७ बजे