Logo

मुख्य समाचार

आमाहरूको स्वाभिमानप्रति सरकार सचेत छ : गृहमन्त्री खाण



काठमाडौं । गृहमन्त्री बालकृष्ण खाणले आमाको नामबाट नागरिकता दिने क्रममा गर्नुपर्ने स्वघोषणाले आमाको आत्मसम्मानमा आँच नआउने बताएका छन् । उनले सबै आमाको आत्मसम्मान र स्वाभिमानमा आँच नआओस् भनेर सरकार सचेत रहेको बताउँदै यसले आमा र बच्चालाई न्याय हुने दाबी गरेका छन् ।

‘आमाहरूको स्वाभिमानप्रति सरकार सतर्क र सचेत छ,’ गृहमन्त्री खाणले भने । गृहमन्त्री खाणले एकल आमा वा आमाका नामबाट नागरिकता लिने, बालमन्दिर, बालआश्रमको संरक्षणमा रहेका तथा गैरआवासीय नेपाली नागरिकताको व्यवस्था गर्न विधेयक ल्याइएको र यसले अनागरिक भई कुनै पनि काम गर्न नपाएका नागरिकलाई न्याय गरेको समेत बताए ।

राष्ट्रपतिबाट पुनर्विचारका लागि संसद्मा फिर्ता भएको नागरिकता विधेयकमा आमा र बच्चालाई सम्मान गरिएको गृहमन्त्रीको भनाइ छ। ‘स्वघोषणाबारे बुझाउन नसकेर पनि होला । फाराममा भर्ने हो, त्यसलाई गोप्य राखिएको हुन्छ । त्यसबारे नियमावलीमा थप व्यवस्था गरिन्छ। नागरिकतामा बुबाको नाम खाली राखिन्छ,’ उनले भने । उनका अनुसार विगतमा केपी ओली सरकारले ल्याएको अध्यादेशमा भएको व्यवस्था नै नागरिक विधेयकमा रहेको छ । एमालेले वैवाहिक अंगीकृतको विषयमा असहमति प्रकट गर्दै आएको छ ।

प्रकाशित मिति : ७ भाद्र २०७९, मंगलबार  ७ : ३३ बजे