Logo

मुख्य समाचार

वाईसीएलको अध्यक्षमा सुवोध श्रीपाली चयन



काठमाडौं । नेकपा माओवादी केन्द्रको सहायक संगठन वाईसीएलको अध्यक्षमा सुवोध श्रीपाली चयन भएका छन् । राजधानीमा सम्पन्न राष्ट्रिय भेलाले नयाँ पदाधिकारी चयन गरेको हो । निर्वातमान अध्यक्ष सुमन देवकोटाले उमेरहदका कारण छोड्नुपर्ने भएपछि नयाँ नेतृत्व चयन गर्नका लागि भेला आयोजना गरिएको हो ।

वाइसिएलका एक नेताका अनुसार केन्द्रीय समिति ३५१ सदस्यीय घोषणा भएको छ । जसमा पदाधिकारीमात्रै ६१ जनाको बनेको छ । पदाधिकारीमा वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष, महासचिव, उपमहासचिव, सचिव, कोषाध्यक्षलगायतको पद सिर्जना गरिएको छ । यसअघि श्रीपाली वाईसीएलको सहसंयोजक थिए ।

वाइसिएलमा ४० वर्ष मुनिका युवाहरु मात्रै रहने प्रावधान छ । वाईसीएलको गत भदौ १२–१५ गतेसम्म चलेको राष्ट्रिय भेलाबाट संगठनात्मक संरचना टुंग्याउन नसकेपछि यही शुक्रबार र शनिबारका लागि दोस्रो भेला बोलाइएको थियो । तर, पद बाँडफाँटमा कुरा नमिलेपछि आइतबारसम्म भेला लम्बिएको थियो । गत भदौको भेलापछिको पहिलो पूर्ण बैठकले संयोजकमा सुमन देवकोटा र सहसंयोजकमा सेर्पालीलाई सर्वसम्मत चयन गरेको थियो ।

प्रकाशित मिति : ६ भाद्र २०७९, सोमबार  १० : ४२ बजे