Logo

Breaking News 1

उम्मेदवार मनोनयनको जिम्मेवारी देउवालाई दिने कांग्रेसको निर्णय, अन्य के–के निर्णय भए ?



काठमाडौं । नेपाली कांग्रेसले आगामी प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि उम्मेदवारी मनोनयनको अधिकार सभापति शेरबहादुर देउवालाई दिएको छ ।

शनिबार बिहान पार्टी कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले मनोनयनको अधिकार देउवालाई दिएको हो ।

यस्तै, बैठकले मंसिर ४ गते हुने प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्यको पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली र समानुपातिक निर्वाचन प्रणाली तर्फको निर्वाचनमा भाग लिनका लागि कांग्रेस पार्टीलाई निर्वाचन आयोगमा दर्ता गर्ने निर्णय गरेको छ ।

निर्वाचनमा पार्टीका तर्फबाट खडा गरिने उम्मेदवारलाई “उम्मेदवार मनोनयनको औपचारिक पत्र” प्रदान गर्नका लागि पार्टी सभापति शेरबहादुर देउवालाई जिम्मेवारी दिने निर्णय गरेको छ । यस्तै, प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्यको निर्वाचन प्रयोजनका लागि नेपालको संविधानको धारा २७१ तथा राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा ४८ बमोजिम निर्वाचन आयोगमा दल दर्ता गर्ने र सो सम्बन्धी सम्पूर्ण प्रक्रिया पूरा गर्न नेपाली कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेललाई जिम्मेवारी प्रदान गर्ने निर्णय भएको छ ।

यसैगरी प्रक्रिया पुऱ्याई उम्मेदवारको नाम प्रस्ताव र सिफारिश गर्नका लागि पार्टीको सम्बन्धित निकायलाई उपयुक्त समयमा केन्द्रीय कार्यालय मार्फत् निर्देश गर्ने र निर्वाचन केन्द्रीत राष्ट्रव्यापीअभियान २०७९ भदौ २ गतेदेखि गर्ने निर्णय गरिएकोमा उक्त अभियान भाद्र १० गतेदेखि भाद्र २४ गतेसम्म संचालन गर्ने निर्णय भएको छ ।

प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनमा प्रत्यक्ष र समानुपातिकतर्फ क-कसको आकांक्षा छ भन्ने कुरा तल्ला तहबाट सिफारिस गर्न बैठकले परिपत्र गर्ने निर्णय गरेको भएको छ ।

प्रकाशित मिति : २८ श्रावण २०७९, शनिबार  १२ : २४ बजे