Logo

मुख्य समाचार

काठमाडौं महानगरपालिकाले भन्यो-‘अझै केही दिन फोहोर उठाउन सकिँदैन’



काठमाडौं । नियमितरूपमा फोहोर उठ्न छाडेपछि महानगरका मुख्य चोक तथा गल्लीमा फोहोर थुप्रिन थालेका छन् ।

कलंकी, कालीमाटी, टेकु, अनामनगर, बानेश्वर, थापागाउँ, कोटेश्वरलगायत स्थानका सडकमा लामो समयदेखि फोहोर थुप्रिएको हो।

महानगरपालिकाले भने सिसडोलबाट बञ्चरेडाँडासम्म जाने सडक मर्मतको काम पूरा नभएकाले मुख्य चोकमा फोहोर थुप्रिन थालेको जनाएको छ। कामपाका प्रवक्ता नवीन मानन्धरले तोकिएको समयमा पनि सडक मर्मतको काम पूरा नभएका कारण फोहोर व्यवस्थापनमा समस्या भएको जानकारी दिए।

बाटो मर्मतको काम सम्पन्न गर्न अझै समय लाग्ने भएकाले अझ केही दिन सबै स्थानको फोहोर व्यवस्थापन गर्न कठिन हुने उनको भनाइ छ। यसअघि यही साउन ४ गते काठमाडौँ महानगरपालिकाले सार्वजनिक सूचना जारी गर्दै सडक मर्मतको काम गर्नुपर्ने भएकाले एक हप्ताका लागि घर बाहिर फोहर ननिकाल्न आग्रह गरेको थियो।

यता, बञ्चरेडाँडाका बासिन्दाले भने सम्झौताअनुसार काम नभएको भन्दै आगामी भदौ १ गतेदेखि फोहोर व्यवस्थापन गर्न नदिने चेतावनी दिएका छन्। समयमा नै सडक मर्मतको काम नगरेको, फोहोर बोक्ने गाडीमा (लिचड ट्यांकी) फोहोरको लेदो रहने भाँडो व्यवस्था नगरिएको, स्थानीयको स्वास्थ्य बीमा, शिक्षाको प्रत्याभूतिजस्ता विषयबारे बेवास्ता गरिएको भन्दै उनीहरूले फोहोर व्यवस्थापन गर्न नदिने चेतावनी दिएका छन्।

कामपाले बञ्चरेडाँडाका स्थानीयको माग सम्बोधनको चरणमा रहेको जनाउँदै उपत्यकाको कुहिने फोहोर यही व्यवस्थापन गर्नका लागि स्थान पहिचानको काम गरिरहेको जानकारी दिएको छ। त्यसका लागि उपत्यकाको अन्य नगरपालिकासँगको सहकार्यमा जग्गा पहिचानको काम भइरहेको बताइएको छ।

यसअघि हरेक दिन उपत्यकाबाट एक हजार २०० मेट्रिक टन फोहर सिसडोलमा व्यवस्थापन गरिँदै आएको थियो। सबैभन्दा बढी कामपामा पाँच सय मेट्रिक टन फोहोर निस्कन्छ। उपत्यकाबाट दैनिक उत्सर्जन हुने फोहोरमध्ये करिब ७५ प्रतिशत उक्त स्थानमा व्यवस्थापन गरिँदै आएको छ ।

प्रकाशित मिति : २१ श्रावण २०७९, शनिबार  १० : १६ बजे