Logo

समाचार

पहिरोले डुम्रे – बेशिसहर सडकखण्ड अबरुद्ध


१६ श्रावण २०७९, सोमबार  

1.5k
Shares

लमजुङ । लगातारको वर्षाका कारण डुम्रे–बेँसीसहर सडकखण्डअन्तर्गत उदीपुर सडकखण्ड अवरुद्ध भएको छ । आइतबार रातिदेखिको निरन्तर वर्षाका कारण गएरातिदेखि नै उक्त सडकखण्ड अवरुद्ध भएको हो ।

बेँसीसहर नगरपालिका– १ उदीपुरको देउरालीडाँडामा गएको पहिरोका कारण सडक अवरुद्ध भएको प्रहरीले जनाएको छ । अहिले पनि वर्षा भइरहेकाले उदीपुरमा ढुंगासहित लेदो आएर सडक अवरुद्ध भएको छ ।

जिल्ला प्रहरी कार्यालय लमजुङका प्रमुख कृष्णबहादुर कार्कीका अनुसार उदीपुर सडकको वैकल्पिक रूपमा रहेको नेपाली सेनाको ब्यारेक, रिठ्ठेबगर हुँदै उदीपुर बजार जोडिने भागमा माथिबाट लेदो आएर सडक अवरुद्ध बनेको हो ।

सडकखण्ड अवरुद्ध हुँदा बेँसीसहरबाट गएका सवारीसाधन बेँसीसहरतर्फ र डुम्रेबाट आएका डुम्रेतर्फ नै रोकिएका छन् । पानी परिरहेकाले सडकको पहिरो पन्छाउन कठिनाइ भएको डुम्रे–बेँसीसहर–चामे योजना सडक कार्यालय लमजुङले जनाएको छ । यस सडकको दूरी ४२ किलोमिटर छ ।

गत वर्ष र असार पहिलो साताको पहिरोले डुम्रे–बेँसीसहरको देउरालीडाँडाको सडक नै बगाएपछि उक्त स्थानबाट वैकल्पिक सडकको रूपमा सञ्चालन हुँदै आए पनि यस खण्डसमेत पटक–पटक पहिरोले अवरुद्ध हुँदै आएको छ ।

प्रकाशित मिति : १६ श्रावण २०७९, सोमबार  ८ : ५० बजे