Logo

समाचार

आत्मदाह प्रयास गरेका गणेश नेपालीको अन्तिम संवाद : ‘दाइ, मेरो गल्ती थिएन’



काठमाडौं । त्रिपुरेश्वरस्थित राहदानी विभागअगाडि आत्मदाहको प्रयास गरेका २५ वर्षीय गणेश नेपालीको निधन भएको छ ।

उनको निधनअघि वीर अस्पतालमा उपचारका क्रममा दाइ मदन नेपालीले भाइसँग भएको अन्तिम संवाद सम्झिँदै भावुक अभिव्यक्ति दिएका छन् ।

वीर अस्पतालले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै मदनले गणेशले आफूलाई अन्तिम अवस्थामा पनि ‘मेरो गल्ती थिएन’ भनेर पटक–पटक भनेको बताए ।

मदनका अनुसार घटनाको अघिल्लो दिन गणेश र उनकी श्रीमती उनको कोठामा आएका थिए । साँझ करिब ९ बजेतिर गणेश बाहिर निस्किएका थिए । दुर्गम क्षेत्रबाट आएका कारण काठमाडौंमा मासु खान कठिन हुने गरेको उल्लेख गर्दै मदनले गणेशले खसीको खुट्टा ल्याएको र आफूलाई पकाइदिन भनेको सुनाए ।

उनले भने, ‘दाइ उठ्नुस् न बनाउनू भनेर उसले भनेको थियो । मैंले भयो छाड भनेँ । त्यसपछि उसले त्यही भात खाएर सुत्यो।’

घटनाको दिन बिहान आफूले गणेशलाई बाइकको किस्ता तिर्नुपर्ने भएकाले पठाओ(बाइक राइड) चलाउन जान भनेको मदनले बताए । त्यसपछि गणेश बाइक लिएर बाहिर निस्किएको उनले सुनाए । 

उनले भने ‘मंैले बिहान भनेँ–गणेश उज्यालो भयो, पर्सि बाइकको किस्ता बुझाउने दिन आइसक्यो । पठाओ गर्न जाऊ भनेर भनेँ,’ मदनले भने, ‘ऊ उठेर बाइक निकाल्यो । छिमेकीलाई असर नहोस् भनेर बाइक बाहिर लगेर स्टार्ट गरेको थियो।’

गणेश बिहान निस्किएपछि दिउँसोसम्म पनि घर नफर्किएपछि आफूले पर्खिरहेको उनले बताए । दिउँसो साढे २ बजेतिर प्रहरीको फोन आएपछि मात्र घटनाबारे जानकारी पाएको उनले बताए ।

‘प्रहरीको नम्बरबाट फोन आयो । तपाईंको मान्छेले पेट्रोल छर्केर यहाँ घटना गर्नुभएको रहेछ । वीर अस्पताल आउनुस् भन्नुभयो,’ उनले भने, ‘म तीन बजे अस्पताल आइपुगेँ।’

अस्पतालमा भेट्दा गणेशको बोली कमजोर अवस्थामा रहेको र उनले केही शब्द बोलेको उनले बताए ।

‘दाइ, बाबा–मम्मीलाई राम्रो गर्नुस् भनेको भन्यै ग¥यो,’ उनले भावुक हुँदै भने, ‘त्यसपछि उसले दाइ मेरो गल्ती थिएन है भनेर दुई पटक भन्यो।’

मदनका अनुसार गणेशले आफूले गल्ती नगरेको भन्दै ह्वील लक र ट्राफिक कारबाहीको कुरा गरेका थिए ।

‘मैंले कसको के भएको हो भनेर सोधेँ । उसले मेरो गल्ती थिएन, त्यो ह्वील लक लायो, ह्वील लक लगाउँदा–लगाउँदै ट्राफिक आएर त्यस्तो भयो भन्यो,’ मदनले भने ।

त्यसपछि गणेशको बोली बन्द भएको र थप कुरा गर्न नसकेको उनले बताए । गणेशको उपचारका क्रममा वीर अस्पतालमा निधन भएको हो ।

प्रकाशित मिति : २६ असार २०८३, शुक्रबार  १ : २३ बजे