Logo

Breaking News 1

निर्वाचन सार्ने खतरा छ : ओली



काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले विभिन्न बहानामा आगामी मंसिरमा हुनुपर्ने प्रदेश र प्रतिनिधि सभाको निर्वाचन सार्ने खतरा रहेको बताएका छन् ।

बुधबार काठमाडौंमा आयोजना भएको एमाले वागमती प्रदेशस्तरीय बृहद भेला तथा प्रशिक्षण कार्यक्रममा बोल्दै ओलीले सरकारले विभिन्न बहनामा निर्वाचन सार्ने षड्यन्त्र भइरहेको बताएका हुन् ।

‘मंसिरमा संघीय संसद र प्रदेश सभा सदस्यका लागि आम निर्वाचन हुनुपर्नेछ तर विभिन्न बहाना बनाएर निर्वाचन पर सार्ने खतरा छ’, अध्यक्ष ओलीको भनाइ छ । उनले समयमा निर्वाचन हुनुपर्ने भन्दै त्यो निर्वाचनबाट राष्ट्रवादी सरकार बन्नुपर्ने बताए ।

उनले वर्तमान सरकारले संविधानमाथिको थिचोमिचो गरिरहेको भन्दै गत फागुनमा हुनुपर्ने निर्वाचन बैशाखमा गरिएको त्यो पनि एमालेको दवावले मात्रै सम्भव भएको बताए । ‘स्थानीय निर्वाचन पनि हामीले देख्यौ, फगाुनमा हुनुपर्ने त्यो निर्वाचन बैशाखमा भयो । त्यो पनि आगामी चैतमा गर्ने भनेर गठबन्धनका नेताहरु बोलिरहेका थिए’, ओलीको भनाइ छ ।

ओलीले सरकार सञ्चालकहरु अयोग्य सावित भएको, भ्रष्ट सावित भएको, नातावाद कृपावादलाई आदर्श बनाएर कुदेको, देशको अर्थतन्त्रलाई वर्वादीतर्फ धकेल्दै लगेको, समाजलाई तनावग्रस्त अवस्थातर्फ धकेल्दै लगेको, अन्तराष्ट्रिय सम्बन्धलाई अनुचित ढंगले खल्वल्याएको र देशको भविष्य नै के होला भन्ने गम्भीर चिन्ता पैदा भएको बताए । ‘आफ्ना स्वार्थका पछाडि नकुद्ने व्यक्तिले सोच्यो भने मन थाम्न नसक्नेगरी ववर्वादीतर्फ देश जाँदैछ’, अध्यक्ष ओलीको भनाइ छ ।

उनले आफ्नो नेतृत्वको सरकार भएका बेला सम्बृद्धि र विकासको लय समाते पनि गठबन्धन सरकार बनेपछि त्यो बिग्रेकाले आगामी निर्वाचनपछि देशलाई सम्बृद्धि र विकासका उदेश्य प्राप्त गर्नेगरी बढ्नुपर्ने बताए ।

‘देशको समृद्धिको विकासको जुन लय समातेको थियो, त्यस लयलाई फेरि प्राप्त गर्ने र अगाडि बढाउने, बाटोमा लान सक्ने त्यस्तो सरकारको गठन आगामी निर्वाचनबाट गर्नुपर्ने छ,’ उनले भने, ‘यी उद्देश्य प्राप्त गर्ने गरी हामी अगाडि बढ्नुपर्ने छ ।’
उनले आगामी मंसिरमा चुनाव हुनैपर्ने भन्दै यसबीचमा भ्रष्टाचार र बेथितिविरुद्ध संघर्ष गर्नुपर्ने र जनतालाई सरकारले दिएका पीडालाई अन्त्य गर्नुपर्ने बताए ।

राष्ट्रियता, विकास, सुशासनलाई उपयुक्त ढंगले बढाउन एमालेको सरकारले मात्र सक्ने ओलीले बताए । उनले भने, ‘एमाले जस्तो पार्टी जसले राष्ट्रियता, जननजीविका, सुशासनका प्रश्न आदिलाई र बाह्य सम्बन्धलाई पनि सन्तुलित र उपयुक्त ढंगबाट बढाएर राष्ट्रिय हितको रक्षा, सम्बद्र्धन गर्न सक्छ त्यो भनेको एमालेको सरकार हो । त्यो एमालेको सरकार गठन गर्न हामीले सक्नुपर्छ आगामी निर्वाचनबाट ।’ उनले संवैधानिक व्यवस्था अनुसार आगामी मंसिरमा प्रदेश र प्रतिनिधि सभाको निर्वाचन हुनैपर्ने बताए ।

प्रकाशित मिति : ४ श्रावण २०७९, बुधबार  १२ : ४८ बजे