Logo

समाचार

पत्रकार महासंघ चितवनको अनुकरणीय काम : पत्रकारलाई निवृत्तिभरण



काठमाडौं । नेपाल पत्रकार महासंघ चितवन शाखाले आज मंगलबारदेखि जेष्ठ पत्रकार निवृत्तिभरण कोष संचालन गरेको छ । जेष्ठ पत्रकारलाई निवृत्तिभरण दिनेमा पत्रकार महासंघ अन्तर्गतका विभिन्न च्याप्टर मध्ये चितवन शाखा पहिलो बनेको छ ।

भरतपुर महानगरपालिका र पत्रकार महासंघ चितवन शाखाको साझेदारीमा संचालित यो कोषमा अहिले २० लाख रकम जम्मा गरिएको छ । मंगलबार आयोजित कार्यक्रममा महानगरकी मेयर रेनु दाहाल, उप-मेयर चित्रसेन अधिकारी र पत्रकार महासंघ चितवन शाखाका अध्यक्ष नारायण अधिकारीले संयुक्त रुपमा कोषमा दाखिल २० लाख रकमको चेक सार्बजनिक गरेका थिए । यसका लागि भरतपुर महानगरपालिकाले प्रदान गरेको २० लाख रुपैयाँको अक्षय कोष बनाइएको छ ।

अबदेखि चितवन शाखामा आवद्ध ज्येष्ठ पत्रकार (६० वर्ष पुगेका २० वर्ष पत्रकारिता गरेका) ले मासिक निबृत्तिभरण प्राप्त गर्नेछन् । कार्यक्रममा पहिलो पटक निवृत्तिभरण प्राप्त गर्ने ज्येष्ठ पत्रकारहरुमा डिआर पोखरेल, महेन्द्र श्रेष्ठ, रेशम विरही र मोहन पोखरेल रहेका छन् ।

कोष संचालनका बारेमा बोल्दै महानगरकी मेयर रेनु दाहालले पत्रकार हकहितका लागि महानगर सदैव सहयोगी बन्ने बताइन् । ‘नागरिकको सुचनाको हकप्रति महानगर सधैं सचेत छ,’ उनले भनिन्, यसका लागि पत्रकारलाई प्रोत्साहन गर्न यो कोष स्थापनामा सहयोग गरेका हौं ।’

महासंघका अध्यक्ष नारायण अधिकारीले श्रमजीवी पत्रकारलाई सधैैभरि सक्रिय बनाउन र अभिभावक सरहका पत्रकारहरुको सम्मानका लागि यो कोष स्थापना गरिएको जानकारी दिए । ‘यो निवृत्तिभरणले पत्रकारमा जागरुक पैदा गर्ने बिश्वास महासंघले लिएको छ,’उनले भने,‘पत्रकारलाई प्रोत्साहन र हौसला प्रदान गर्न भौतिक रुपमा सहयोग आवस्यक गर्नुपर्ने देखेर निवृत्तिभरणको शुरुवात गरेका हौं ।’ मानिसको सृजनात्मक क्षमता उमेरले नभई हौसलाले तय गर्ने भएकोले महासंघले पत्रकारलाई सधैं यस्तै हौसला दिने खालका कार्यक्रम ल्याउने प्रयासमा रहेको उनले बताए ।

पत्रकार महासंघ चितवन शाखाले आफ्नै मिहिनेतले भवन पनि निर्माण गरिसकेको छ । यसमा सबै पत्रकारको योगदान रहेको छ । महासंघले पत्रकारलाई जागरुक बनाउन अन्य विभिन्न कार्यक्रम ल्याउने कसरत गरिरहेको महासंघका उपाध्यक्ष प्रकाश ज्ञवालीले जानकारी दिए । महासंघले गत बर्ष कोरोना संक्रमणको अत्यधिक जोखिम बढेको बेलामा प्राथमिक उपचार सामग्री वितरण गरेको थियो ।

तस्विर सौजन्य : नेपाल पत्रकार महासंघ चितवन

प्रकाशित मिति : २८ असार २०७९, मंगलबार  ५ : २३ बजे