Logo

Breaking News 1

आईजीपी नियुक्तिविरुद्धको रिटमा आज चौथो पटक सुनुवाइ हुँदै



काठमाडौं । नेपाल प्रहरीको आईजीपी नियुक्तिविरुद्धको रिटमा आज सुनुवाइ हुँदै छ । सर्वोच्चका कामु प्रधान न्यायाधीश दीपक कुमार कार्की र न्यायाधीश कुमार चुडालको इजलासमा मुद्दा हेर्दाहेर्दैमा राखिएको छ ।

कामु प्रधानन्यायाधीश नेतृत्वको इजलासमा सो मुद्दा चौथो पटक सुनुवाइ हुन लागेको हो । संयुक्त इजलासमा जेठ ३०, असार ५ र १३ मा आईजीपी विवादबारे सुनुवाइ भैसकेको छ ।

वैशाख १८ मा मन्त्रिपरिषद्ले धिरज प्रताप सिंहलाई प्रहरी महानिरीक्षक नियुक्त गर्ने निर्णय गरेको थियो । वरिष्ठता मिचेर मन्त्रिपरिषद्ले सिंहलाई आईजीपी नियुक्त गरेको भन्दै प्रतिस्पर्धी एआईजी विश्वराज पोखरेलले सर्वोच्चमा रिट दायर गरेका हुन् ।

आईजीपी विवादसँगै राखिएको एआईजी बढुवाविरुद्धको रिटको सुनुवाइ सकिएको छ । एआईजी बढुवाविरुद्ध पूर्व डिआईजी ईश्वरबावु कार्की, घनश्याम अर्याल र प्रकाशजंग कार्कीले रिट दायर गरेका थिए । जेठ १७ मा न्यायाधीश विश्वम्भर प्रसाद श्रेष्ठ र कुमार चुडालको बेच्नले एआईजी बढुवाविरुद्धको रिटका प्रत्यर्थी धिरज प्रताप सिंह, रवीन्द्र बहादुर धानुक र वसन्त पन्तको म्याद तामेल गरेर जेठ ३० मा सुनुवाइका लागि पेस गर्न आदेश गरेका थिए ।

घनश्याम अर्याल सहित ३ जना डिआईजीले अहिलेका आईजीपी धिरज प्रताप सिंह र रवीन्द्र बहादुर धानुकलाई वरीयता मिचेर बढुवा गरेको भन्दै रिट दायर गरेका थिए ।

प्रकाशित मिति : १९ असार २०७९, आइतबार  ८ : ०६ बजे