Logo

Breaking News 1

प्रचण्डलाई जवाफ फर्काउँदै घनश्यामले भने,‘माओवादीको होइन, नेकपाको मात्र बीउ चल्छ ’



काठमाडौं । नेकपा एमालेका बिद्रोही नेता घनश्याम भुसालले माओवादीको बीउ, एमालेको बीउ, समाजवादीको बीउ, कमरेड फलानाको बीउ अब नउम्रने बताएका छन् ।

आजै मात्र प्रचण्डले एउटा सार्वजनिक मञ्चमा एमालेमा बिउ रोपेका छौं, २/३ वर्षमा फल्छ भनेको जवाफमा भुसालले भने,‘एउटा धारालाई उत्साहित गर्न भनेको भए सम्मान गर्ने तर,आजको आवश्यकतालाई उहाँ (प्रचण्ड) ले पनि राम्ररी बुझ्नु भएन ।’

कम्युनिस्ट नेता सिद्धिलाल सिंहको जनअभिनन्दन कार्यक्रममा आज बुधवार भुसालले कृषिको कुरा गर्दा हामी रैथाने बिउको कुरा गर्छौं । त्यसले आजको आवश्यकता पूरा गर्न सक्दैनन् । त्यसलाई हाइब्रिड बनाउनुपर्ने बताए । हामीले अस्ति नेकपा हाइब्रिड बनाएका थियौं । हाम्रो बुद्धि पुगेन र भकारीमै आगो लगायौं । बिउ सुरक्षित छन्, यसलाई फेरि हाइब्रिड बनाउनुपर्छ । जहाँ माओवादी, एमाले, समाजवादी केही रहने छैन, नेकपा रहने छ, कम्युनिस्ट पार्टी रहनेछ ।’

कम्युनिष्ट आन्दोलनमा देखिएका कमजोरी हटाउन प्रत्यत्न गर्ने बताए । उनले भने, ‘कम्युनिस्ट आन्दोलनमा विभाजन, विवादको एउटा परम्परा छ । त्यो पछिल्लो दिनमा राजनीतिलाई धन्दा बनाउने र त्यो धन्दा बचाइराख्न गुटबन्दी गर्ने डरलाग्दो रोग व्यहोर्दै आएका छौं ।’

एकठाउँमा जुट्दा ६०/७० प्रतिशत कम्युनिस्टहरु फुटेर आफ्नै घरमा आगो लगाएको र त्यसमा आङ सेकेर एकअर्कालाई गालीगलौज गर्दै आएको उनले बताए ।

भुसालले भने, ‘हाम्रो पुस्ताको तर्फबाट कमरेड सिद्धलालका अगाडि कसम खान्छु । यो कमजोरी हटाउन निरन्तर प्रयत्न गर्छौं, अन्तिमसम्म प्रयत्न गर्छौं, हटाउने छौं र कम्युनिस्ट आन्दोलनलाई एकताबद्ध पार्नेछौं ।’ कम्युनिस्ट आन्दोलनलाई एकताबद्ध पार्ने कसम आएका छन् , त्यसलाई पुरा गरौं, उनले भने ।

प्रकाशित मिति : १५ असार २०७९, बुधबार  १ : ४० बजे