Logo

मुख्य समाचार

सबैलाई समेटेर लाने प्रयास गर्नेछु : रवि लामिछाने (कुराकानीमा आधारित)



काठमाडौं । रवि लामिछानेको राजनीतिमा इन्ट्रीसंगै अनेक अड्कलबाजी शुरु भएको छ । नेपाली संचार जगतमा बहुचर्चित लामिछानेले राजनीतिमा पुर्ण रुपमा लाग्ने घोषणा गरेपछि नयाँ दल खोल्छन् वा पुरानोमा जान्छन् अथवा स्वतन्त्र रुपमा चुनावमा होमिन्छन् भन्ने बिषयले नागरिकतहमा अड्कलबाजी शुरु भएको हो ।

लामिछाने नेपालको संचारजगतमा सर्बाधिक चर्चित व्यक्तिमा पर्छन् । गुगल सर्च पेजका अनुसार, नेपालमा धेरै खोजिने व्यक्तिमा लामिछाने पर्छन् । नौ बर्षअघि उनले निरन्तर ६० घण्टाबढि टेलिभिजन अन्तर्वार्ता कार्यक्रम चलाएर बिश्व रेकर्ड बनाएका थिए । लामिछानेले पहिले चलाएको ‘सिधा कुरा जनतासंग’ र हालै राजीनामा दिनु अघिसम्म संचालन गरेको ‘सिधा कुरा’ कार्यक्रमबाट उनि सर्वसाधारणमाझ निकै लोकप्रिय बनेका थिए । उनि टेलिभिजनमा खरो प्रस्तोताका रुपमा देखिंदै आएका थिए ।

लामिछानेले केहि दिनअघि ग्यालेक्सी टेलिभिजनबाट राजीनामा दिंदै अब परिस्थितिले राजनीतिज्ञ बनाएको घोषणा गरेका थिए । लामिछाने ग्यालेक्सी टेलिभिजनको संस्थापक प्रबन्ध निर्देशक थिए । कस्तो परिस्थिति आइलाग्यो, राजनीतिमा लाग्न ? हामीले लामिछानेसंग यहि सेरोफेरोमा रहेर छोटो कुराकानी गरेका छौं ।

प्रश्न–१ : यतिधेरै मिहिनेत गरेर उभ्याएको टेलिभिजन छोड्नु भएछ नि, किन ?
उत्तर– म अब राजनीति गर्न चाहन्छु । टेलिभिजनमा कराएर मात्र मुलुक बनाउन सकिन्छ जस्तो लागेन । मैले टेलिभिजनको पर्दाबाट धेरै गर्ने प्रयास गरेको हुँ । के कति गरें जनताले मुल्यांकन गर्नुहोला । हामीले संचार क्षेत्रबाट बाटो देखाउने मात्र रहेछ । तर, मुलुक बनाउन आँफै मैदानमा उत्रनैपर्ने रहेछ । त्यहि सोचेर राजनीतिमा प्रबेश गरेको हुँ ।

प्रश्न–२ : परिस्थितिले राजनीतिज्ञ बनायो भन्नुभएको रहेछ , कसरी ?
उत्तर– हो म, रहरले संचारकर्मी बनेको हुँ । मुलुक र जनताको लागि काम गर्न कति सकें, कति सकिन ? त्यो जनताले नै फैसला गर्लान् । तर, अब म आँफै सरकार संचालनको बागडोर सम्हाल्ने ठाउँमा पुग्नेछु । यसका लागि मैले राजनीति गर्नुपर्छ भनेर म राजनीतिमा होमिने निर्णय गरेको हुँ ।

प्रश्न– ३ : राजनीतिमा त लाग्ने निर्णय गर्नुभयो । पुरानै पार्टीमा जानेकि, नयाँ पार्टी बनाउने कि, स्वतन्त्र बनेर चुनावमा होमिने ? के निर्णयमा पुग्नुभएको छ ?
उत्तर– राजनीतिमा जाने निर्णय मात्र भएको छ । अहिलेसम्म कुनै पुरानै पार्टीमा जाने वा नयाँ पार्टी गठन गर्ने केहि निर्णय भएको छैन । सबै क्षेत्रका व्यक्ति, विज्ञ, अग्रज राजनीतिज्ञ लगायतसंग छलफल भइरहेको छ । म सबैलाई समेटेर लैजाने प्रयास गर्नेछु ।

प्रश्न– ४ : बजारमा त तपाईं पुरानै पार्टीमा जाने हल्ला व्यापक छ नि ? के यो बढि संभावनाको विकल्प हो ?
उत्तर– यी सबै हल्ला गलत हुन् । यहि असार ७ गते दिनको एकबजे राष्ट्रिय सभा गृह काठमाडौंबाट घोषणा नभएसम्म यहि निर्णय भएको छ भन्ने सबै अनुमान गलत मान्नुहोला । तर, एउटा कुरा के सत्य हो भने म मेरा सम्पुर्ण समर्थक, शुभचिन्तकलाई निराश बनाउँदिन । सबैलाई समेट्नेगरि निर्णय आउनेछ भन्ने आशाबादी बन्न म आग्रह गर्न चाहन्छु । अहिले हल्लाको पछि होइन, असार ७ गतेको निर्णयलाई पर्खौं, यति नै भनें मैले ।

प्रकाशित मिति : ५ असार २०७९, आइतबार  १ : ३८ बजे