Logo

समाचार

कास्की झाँझरमारे कालिकास्थानका त्रिपाठीको कुलपुजा सम्पन्न


२७ जेष्ठ २०७९, शुक्रबार  

207
Shares

काठमाडौं । कुल परम्परा र संस्कृतिलाई अक्षुण्ण राख्न कास्की झाँझरमारे स्थित कालिकास्थानका त्रिपाठीहरु पछिल्ला बर्षमा निकै सक्रिय बनेका छन् । त्रिपाठीहरुको पहलमा यहाँ विभिन्न विकास निर्माणसंगै कुल संरचनाका संरक्षण कामलाई तिव्रता दिइएको छ ।

आफ्नो संस्कृति रक्षार्थ यहाँका त्रिपाठीले यसै साता (२४–मंगलबार) कुलपुजा सम्पन्न गरेका छन् । पुजामा विभिन्न जिल्लामा छरिएर रहेका त्रिपाठीहरु यहाँ पुगेका थिए । गौतम गोत्रिय त्रिपाठी वंशको कुलपुजामा विभिन्न सामाजिक तथा ख्याति प्राप्त व्यक्तिको सहभागीता थियो ।

यहाँका त्रिपाठीले आफ्नो कुल परम्परा जोगाउन एक समिति गठन गरेका छन् । समिति अन्तर्गत विभिन्न उप–समितिहरु छन् । त्रिपाठी कुल संस्कृति विकास समाज समिति नाम अन्तर्गतका उप-समितिहरुले यहाँ धेरै उल्लेख्य सामाजिक तथा संस्कृति रक्षाका कामहरु गरेका छन् । यो समितिको पहलमा तीनवटा मन्दिर निर्माण गरिएका छन् । समितिका अध्यक्ष नन्दीकेशर त्रिपाठीले विशेष भुमिका निर्वाह गर्दै आएका छन् ।

कुलपुजाको दिन आर्थिक सहयोग गर्ने विभिन्न महानुभावहरुलाई कदरपत्र सहित दोसल्ला ओडाएर सम्मान गरिएको थियो । सहयोगीहरुलाई कार्यक्रमका प्रमुख अतिथि शिक्षा तथा संस्कृतिविद जनार्दन शर्मा त्रिपाठीले दोसल्ला ओडाएर कदरपत्र प्रदान गरेका थिए । कुलपुजा कार्यक्रम समितिका सभापति नन्दीकेशर त्रिपाठीको सभापतित्वमा सम्पन्न भएको थियो ।

कुलपुजा मन्दिर निर्माणमा ऋषिराम त्रिपाठी लगायतको ठुलो भुमिका रहेको छ । सरकारी जागिरबाट अवकास प्राप्त ऋषिराम पछिल्लो पटक यहाँको सामाजिक काममा निकै खट्दै आएका छन् । उनि सहित पद्यमनाथ त्रिपाठी, लिलानाथ त्रिपाठी लगायतको आर्थिक सहयोग उल्लेख्य रहेको छ ।

यस्तै, यस झाँझरमारेका त्रिपाठी विभिन्न क्षेत्रमा निकै क्रियाशिल र योगदान पुर्याउन सफल भएका छन् । ज्योतिष विज्ञानमा नेपालमै पहिलो पटक बिश्वसनीय काम गर्दै आएका स्व.प्राणनाथ त्रिपाठीको चर्चा अहिले पनि देश भित्र र विदेशमा पनि उति नै छ । उनले नेपालमा पहिलो पटक ज्योतिष शास्त्रमा आधारित पात्रो प्रकाशन गरेका थिए । त्यसपछि त्यसलाई पछ्याउँदै उनका छोराहरु, नातिहरुले यसलाई निरन्तरता दिइरहेका छन् । ज्योतिष शास्त्रका अर्का धुरन्धर व्यक्तित्व हुन् स्व.मनहरि त्रिपाठी । उनले पनि ज्योतिष विज्ञानका धेरै ज्ञानमुलक सन्देशहरु प्रकाशन गरेका थिए ।

यहाँका त्रिपाठीको अघिल्लो पुस्ताको योगदान र भुमिका समग्र मुलुककै लागि निकै फलदायी रहेको स्मरण गर्न सकिन्छ । स्व.राजेन्द्रप्रसाद त्रिपाठी, मनहरि त्रिपाठी, रत्नप्रसाद त्रिपाठी लगायतका व्यक्तिहरुले नेपालको राजनीतिमा महत्वपुर्ण भुमिका निर्वाह गरेका थिए ।

प्रशासनिक क्षेत्रमा पनि यहाँका त्रिपाठीले प्रतिनिधित्व गर्दै आएका छन् । माओवादी द्धन्द्धकालमा सोलुखुम्बुको प्रमुख जिल्ला अधिकारीको रुपमा आफ्नो कर्तव्य निर्वाह गर्दा गर्दै मारिएका बुद्धिसागर त्रिपाठी यहि कालिका झाँझरमारेका हुन् । उनको तत्कालीन माओवादी द्धन्द्धकालमा वम विस्फोटमा परेर मृत्यु भएको थियो ।

त्रिपाठीहरु छुवाछुतको निकै बिरोध गर्छन् । सबै जातजाति समान हुन् भन्ने भावनाका साथ यहाँका त्रिपाठी सामाजिक र विकास निर्माणका काममा उल्लेख्य भुमिका निर्वाह गर्दै आएका छन् ।

त्यस्तै, वन मन्त्रालय अन्तर्गत ऋषिराम त्रिपाठी, शिक्षण पेशामा हरिप्रसाद त्रिपाठी, नन्दलाल त्रिपाठी, स्व.टिकाप्रसाद त्रिपाठी लगायतका व्यक्तिले ठुलो योगदान पुर्याएका छन् । नन्दलाल त्रिपाठीले आफ्नै पहलमा स्कुल खोलेर शिक्षा क्षेत्रमा सक्रिय छन् । त्रिपुरेश्वर त्रिपाठीले पनि शिक्षा क्षेत्रमा निकै ठुलो भुमिका निर्वाह गरिरहेका छन् । हाल उनि त्रिपाठी–तिवारी राष्ट्रिय प्रतिष्ठानका केन्द्रीय अध्यक्ष समेत हुन् ।

त्यस्तै, संचार क्षेत्रमा पनि यहाँका त्रिपाठीले विशेष भुमिका निर्वाह गर्दै आएका छन् । काठमाडौंमा रहेर विनोद त्रिपाठी र पोखरामा बसेर अपील त्रिपाठीले महत्वपुर्ण संचारकर्म गरिरहेका छन् । माओवादी द्धन्द्धकालमा जोखिम समाचार लेखेर दर्जनौं व्यक्तिको ज्यान बचाउन सफल भएका चर्चित पत्रकार विनोद त्रिपाठी कान्तिपुर राष्ट्रिय दैनिकमा लामो समय उप सम्पादक भएर काम गरे । त्यसपछि काठमाडौंकै केन्द्रीयस्तरका पत्रिका, अनलाइन, टेलिभिजन लगायतका आधा दर्जन मिडियामा प्रधान सम्पादकको भुमिका निर्वाह गरिसकेका छन् । हाल उनि काठमाडौं स्थित बालुवाटार केन्द्रीय कार्यालय रहेको ऐना खबर डटकमका प्रधान सम्पादक हुन् । उता, अपील त्रिपाठी पनि पोखराकै एक टेलिभिजनमा संचारकर्म गरेर निकै सक्रिय र चर्चित रहेका छन् ।

त्यसैगरि, न्याय क्षेत्रका न्यायाधीश बलराम त्रिपाठीको असल भुमिका गर्व गर्न लायक छ । केहि त्रिपाठीहरु कानुनी क्षेत्रमा पनि सक्रिय छन् । उद्योग व्यवसायमा पनि यहाँका त्रिपाठीहरुले पछिल्लो पटक निकै सफलता प्राप्त गरेको देखिन्छ । लेखनाथ उद्योग बाणिज्य संघको अध्यक्ष भएर लक्ष्मीप्रसाद त्रिपाठी, पोखरा उद्योग बाणिज्य संघको सदस्य भएर किर्तिबल्लभ त्रिपाठीले काम गरिसकेका छन् ।

व्यवसाय र विभिन्न पेशाका कारण यहाँका त्रिपाठी अन्यत्र जिल्लामा जाने क्रम बढेको छ । चितवन, काठमाडौं लगायतका जिल्लामा यहाँका केहि परिवार त्रिपाठी बस्ने गरेका छन् । पछिल्लो पुस्ताका डा.संजीव त्रिपाठीहरु चिकित्सक क्षेत्रमा अब्बल बनिरहेका छन् । यहाँका त्रिपाठीको पुराना पुस्ताले गर्न नसकेका अधुरा कामहरु नयाँ पुस्ताले गर्न युवाहरुको सृजनात्मक सक्रियता निकै बढेको छ । गौतम गोत्रिय त्रिपाठीको यस कालिकास्थानको झाँझरमारेमा निकै बाहुल्य रहेको छ । सबै जातजाति, थरहरु र समुदायसंग घुलमिल गरेर बस्न सक्ने यहाँको त्रिपाठीको विशेषता रहेको छ । त्रिपाठीहरु छुवाछुतको निकै बिरोध गर्छन् । सबै जातजाति समान हुन् भन्ने भावनाका साथ यहाँका त्रिपाठी सामाजिक र विकास निर्माणका काममा उल्लेख्य भुमिका निर्वाह गर्दै आएका छन् ।

-यहि जेठ २४ गते भएको कुलपुजाका केहि तस्विरहरु–

तस्विर, सौजन्यः नन्दलाल त्रिपाठी ।

प्रकाशित मिति : २७ जेष्ठ २०७९, शुक्रबार  ३ : ४९ बजे