Logo

Breaking News 1

स्वतन्त्र उम्मेदवार जीतको तात्पर्य



काठमाडौं । यो स्थानीय तह निर्वाचनको रोचक पक्ष हो, स्वतन्त्र उम्मेदवारको विजयी । यसबारेमा अनेक व्यक्तिका धेरै थरिका धारणा बाहिर आइरहेका छन् । अझै केहि समयसम्म यसको वहस चल्दै जानेछ ।

तर, सारभुत रुपमा स्वतन्त्र उम्मेदवारको जीत अस्वभाविक हो वा स्वभाविक ? यो प्रश्न अहिले उठिरहेको छ । के यसले दलहरुप्रतिको वितृष्णा बाहिर ल्याएको हो त ? बहस यसमा केन्द्रीत हुनु स्वभाविक पनि छ । यो टिप्पणी गर्नुभन्दा पहिले देशभरमा स्वतन्त्र उम्मेदवारहरुको अबस्था जानकारी गराउँ ।

कतै जीत, कतै अग्रता

देशको राजधानी काठमाडौं । यो महानगरपालिकामा स्वतन्त्र उम्मेदवारी दिएका बालेन साहलाई देशका सबै नागरिकले हेरिरहेका छन् । आधा भन्दा बढी मतगणना सकिँदा उनले ठुला दलका उम्मेदवारहरुसँग फराकिलो मतान्तर कायम गरेका छन् ।
उता सुनसरीको धरान उपमहानरपालिका प्रमुखमा चुनाव लडेका स्वतन्त्र उम्मेदवार हर्क साङ्पाङ राईले काँग्रेसका उम्मेदवारसँग अग्रता लिइरहेका छन् । जनकपुरधाम उपमहानगरपालिका प्रमुखका लागि स्वतन्त्र उम्मेदवार मनोजकुमार साह सुडी पनि ३ हजारभन्दा बढी मतले अग्रता लिइरहेका छन् ।

कैलालीको धनगढी उपमहानगर प्रमुखका स्वतन्त्र उम्मेदवार गोपाल हमाल निर्वाचित भएका छन् । भरतपुर महानगरपालिकामा प्रमुखमा स्वतन्त्र उम्मेदवारी दिएका काँग्रेसका बागी उम्मेदवार जगन्नाथ पौडेलले तेश्रो स्थानको मत पाइरहेका छन् ।
महोत्तरीको बर्दिवास नगर प्रमुखमा स्वतन्त्र उम्मेदवार प्रह्लाद क्षेत्री १४ हजार २१० मत पाएर विजयी भएका छन् । उपप्रमुखमा स्वतन्त्र प्यानलबाट तारादेवी महतो ९ हजार ७३६ मत पाएर विजयी भएकी छन् ।

माथिल्लो डोल्पाको डोल्पोबुद्ध गाउँपालिका अध्यक्षमा स्वतन्त्र उम्मेदवार कर्मा छोइवेल गुरुङ ५३५ मत पाएर विजयी भए ।
कालीकोटको सान्नी त्रिवेणी गाउँपालिका अध्यक्षमा स्वतन्त्र उम्मेदवार मोहनबहादुर केसी १ हजार ८२२ मतले विजयी भए । निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रका डम्मरबहादुर शाहीले १ हजार ३२५ मत पाए ।
दाङको शान्तिनगर गाउँपालिका वडा नम्बर २ को वडाध्यक्षमा स्वतन्त्र उम्मेदवार सुनील वली ६२९ मत ल्याएर विजयी भएका छन् ।

ललितपुर महानगरपालिका वडा नम्बर १ मा स्वतन्त्र उम्मेदवार निर्मल तण्डुकार विजयी भएका छन् ।
कर्णाली प्रदेश अन्तर्गत जुम्लाको चन्दननाथ नगरपालिका प्रमुखमा स्वतन्त्र उम्मेदवार राजुसिंह कठायत र खाँडाचक्र नगरपालिकाको प्रमुखमा कमलबहादुर शाही पनि निर्वाचित भएका छन् । जुम्लाको कनकासुन्दरी गाउँपालिका वडा नम्बर ८ मा स्वतन्त्र उम्मेदवार धनबहादुर कामीको प्यानलै विजयी भएको छ ।

पाँचथरको फालेलुङ वडा नम्बर १ मा स्वतन्त्र उम्मेदवार अनिश गुरागाईं विजयी भएका छन् । भोजपुरको साल्पासिलिछो गाउँपालिका अध्यक्षमा स्वतन्त्र उम्मेदवार दौलथकुमार कुलुङ विजयी भएका छन् । मानेभञ्ज्याङ गाउँपालिका अध्यक्षमा पनि स्वतन्त्र उम्मेदवार ज्ञानेन्द्र रुम्लदाली ५ हजार २१ मतका साथ विजयी भएका छन् ।

बर्दिया जिल्लाको मधुवन नगरपालिका वडा नम्बर ३ मा स्वतन्त्र उम्मेदवार नारायण मल्ल विजयी भएका छन् । रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका वडा नम्बर १ मा स्वतन्त्र उम्मेदवार सुन्दर वली ५७७ मत पाएर विजयी भएका छन् ।

मोरङको विराटनगर महानगरपालिका वडा नं १८ मा स्वतन्त्र उम्मेदवार जितेन्द्रकुमार साह वडाअध्यक्षमा विजयी भएका छन् ।
हुम्लाको चङ्खेली गाउँपालिका अध्यक्षमा स्वतन्त्र उम्मेदवार प्यारीलाल शाहीले १ हजार ६९५ मत पाएर विजयी भएका छन् ।
कैलालीको गोदावरी नगरपालिका वडा नम्बर ११ को वडा अध्यक्षमा स्वतन्त्र उम्मेदवार प्रेमसिंह बडैला १ हजार ७० मत पाएर विजयी भएका छन् ।

सिरहाको सिरहा नगरपालिका वडा नंबर २१ को अध्यक्षमा स्वतन्त्र उम्मेदवार सुरेन्द्र मण्डल ४७१ मत पाएर विजयी भएका छन् ।

मनाङको मनाङ ङिस्याङ गाउँपालिका उपाध्यक्षमा स्वतन्त्र उम्मेदवार छिरिङ गुरुङ ७४४ मतसहित निर्वाचित भएका छन् ।
बाजुराको बुढीनन्दा नगरपालिकाको उपप्रमुखमा स्वतन्त्र उम्मेदवार रामबहादुर बोहरा विजयी भएका छन् । डिलासैनी गाउँपालिकाको अध्यक्षमा स्वतन्त्र उम्मेदवार सन्तोषप्रकाश जोशी निर्वाचित भएका छन् । देशभर १ हजार ३ सय ९३ जनाको स्वतन्त्र उम्मेदवारी परेको थियो ।

दलसंग वाक्क, स्वतन्त्रसंग ढुक्क


०७४ सालको स्थानीय चुनावमा जितेका उम्मेदवारले कति काम गरे आ–आफ्नो क्षेत्रमा जनताले मुल्यांकन गरेका छन् । कार्यकर्ताले पो जस्तो भएपनि आफ्नो नेतालाई समर्थन गर्छन् । तर, राजनीतिमा सरोकार नराख्नेलाई दलको मतलब हुँदैन । कुन व्यक्तिले राम्रो गर्यो त्यो हेर्छन् । त्यहि आधारमा उनिहरु भोट दिन्छन् । अहिले भइरहेको त्यहि हो । देशभरको नतिजालाई मुल्यांकन गर्दा स्वतन्त्र उम्मेदवारप्रति सर्वसाधारणको आर्कषण हो यो । दलका नेताहरुप्रति विर्कषण हो ।

गैरदलीय उम्मेदवार पार्टीप्रति होइन, जनताप्रति उत्तरदायीत्व हुन्छन् भन्ने अहिले धेरैलाई थाहा छ । जो नागरिकले राजनीति गर्देन उसले दल हेर्देन । उदाहरणका लागि काठमाडौंको नेवार घनाबस्तीमा पनि बालेन साहले केहि न केहि भोट ल्याएकै छन् । आधुनिक जमानामा जात, क्षेत्र, सम्प्रदाय आदि जस्ता हेर्ने चलनमा कमि हुन थालेको छ । खासगरि, युवावर्गमा उम्मेदवारको क्षमता र योग्यतालाई प्राथमिकता राख्छन् । यो भनेको चेतनाको स्तरमा बढोत्तरी हो ।

अब, दलको होइन, देशको माया गर्नुपर्छ भन्ने सन्देश पनि हो । विकास गर्न र यो समाज बनाउन स्वतन्त्र व्यक्तिलाई किन अवसर नदिने भन्ने यो आदेश पनि हो । जनताको यो आदेश फैलिंदै गयो भने आउने चुनावहरुमा दलहरुका उम्मेदवार झन खुम्चनेछन् । यो स्थानीय चुनावमा स्वतन्त्र उम्मेदवारलाई गएको भोट दलहरुका लागि जनताको जवाफ पनि हो ।

प्रकाशित मिति : ८ जेष्ठ २०७९, आइतबार  ३ : २७ बजे