Logo

Breaking News 1

भगवान बुद्धका सन्देशहरु अहिले पनि उतिनै सान्दर्भिक : देउवा



काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले भगवान बुद्धका दर्शन अहिले पनि उति नै सान्दर्भिक रहेको बताएका छन् । अहिले विश्वमा युद्धसमेत भइरहेको भन्दै अहिंसा र शान्तिको बुद्ध दर्शन अहिले पनि उत्तिकै महत्त्वपूर्ण रहेका बताएका हुन् ।

आज सोमबार बुद्ध जयन्तीको अवसरमा लुम्बिनीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले विश्वमा युद्ध चलिरहेको कारण बुद्ध दर्शनको महत्त्व अहिले झनै बढेको बताएका हुन् । प्रधानमन्त्री देउवाले भने, ‘विश्वका विभिन्न भूभागका मानिसहरूले अहिले हिंसा, वैमनश्यता र युद्धको सामना गरिरहनुपरेको छ । सशस्त्र बन्ने होडबाजी आदि कारणले जनजीवन चुनौतीपूर्ण बन्दै गएको छ । यस्तो परिप्रेक्ष्यमा भगवान् बुद्धका उपदेशहरू अझै सान्दर्भिक र माननीय भएका छन् । पारस्परिक सम्मान, अहिंसा, सद्भाव आदि विश्वका लागि भगवान् बुद्धका सन्देशहरू अहिले पनि उत्तिकै महत्त्वपूर्ण रहेका छन् ।’

प्रधानमन्त्री देउवाले गौतमवुद्धले नेपाल र भारतलाई एक आपसमा भावनात्मकरूपमा जोडेको बताए । भगवान् बुद्धका कारण नेपाल र भारत भावनात्मक र धार्मिकरूपमा एक आपसमा जोड्न सकिएको समेत देउवाले बताए । उनले भने, ‘दुवै देशका नागरिकका लागि गौतम बुद्ध उत्तिकै श्रद्धेय हुनुहुन्छ, उहाँको अमूल्य दर्शन र शिक्षाले दुवै देशका नागरिकलाई नजिकबाट प्रभावित पारेको छ ।’ गौतमबुद्धले दिएका चार उपदेशले मानव जीवनलाई पापबाट मुक्त दिलाइरहेको समेत प्रधानमन्त्री देउवाले बताए ।

देउवाले भने, ‘जीवनलाई रोग, शोक र दुःखबाट माथि उठाउनका लागि, शान्ति स्थापनाका लागि बुद्धका शिक्षा आज पनि विगतकै जत्तिको सान्दर्भिक छन्,’ उनले भने, ‘आज विश्वका विभिन्न ठाउँमा मानवजातिले हिंसा, ईर्ष्या र युद्धको सामना गरिरहनुपरेको छ ।’ यस्तो परिप्रेक्ष्यमा भगवान् बुद्धका उपदेश सान्दर्भिक र मननयोग्य बन्न पुगेका छन् ।

प्रधानमन्त्री देउवाले भगवान् बुद्धको जन्मभूमि लुम्बिनीलाई पुजेर राख्न सरकार प्रतिबद्ध रहेको भन्दै विश्वशान्तिका लागि लुम्बिनीको संरक्षण गर्ने बताए । नेपाल र भारतका तीर्थयात्रीहरूलाई जोड्न, मुक्तिनाथ, पशुपतिनाथ र लुम्बिनी फलदायी रहेको भन्दै बुद्ध दर्शनलाई चिनाउन नेपाल र भारतमा बुद्ध सर्किट बनाउन लागिपर्ने पनि बताए ।

प्रधानमन्त्री देउवाले कोभिड १९, भूकम्प लगायतका कठिन समयमा भारतले गरेको सहयोगप्रति आभारसमेत प्रकट गरेका छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँगै लुम्बिनीमा पुगेका प्रधानमन्त्री देउवाले आपसी समझदारी र पारस्परिक सम्बन्धबाट दुई देशबीचको सम्बन्धलाई थप उचाइमा पुराउने समेत बताएका छन् ।

मलाई नेपाल आउँदा आध्यात्मिक अनुभुति हुन्छ : मोदी

आज सोमबार लुम्बिनी भ्रमणमा रहेका भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले आफूलाई नेपाल भ्रमणमा आउँदा राजनीतिक भन्दा पनि आध्यात्मिक अनुभूति हुने गरेको बताएका छन् । उनले नेपालबाट आफूले अध्यात्मिक आशिर्वाद पाउने गरेको बताए ।
सोमबार लुम्बिनीमा आयोजित २५६६औं बुद्धजयन्ती विशेष समारोहलाई सम्बोधन गर्दै उनले नेपाल–भारत बीचको सम्बन्ध हिमालजस्तै अटल रहेको बताए । दुई देशबीच घनिष्ठ सम्बन्ध रहेको बताउँदै उनले भने, ‘जनकपुरमा मैले भनेको थिएँ, नेपालविना हाम्रा राम पनि अधुरै हुन्छन्, आज भारतमा बनिरहेको राम मन्दिरबाट नेपाल पनि उत्ति नै खुशी छ भन्ने मलाई विश्वास छ ।’ आजै भेटका क्रममा देउवा र मोदीबीच केहिवेर संवाद भएको थियो ।

प्रकाशित मिति : २ जेष्ठ २०७९, सोमबार  ४ : ५९ बजे