Logo

निर्वाचन विशेष

चुनाव प्रचारको आज अन्तिम दिनः शिर्ष नेताहरु गृह जिल्लामा



काठमाडौं । देशभरि चुनावको माहौल छ यतिबेला । सबै उम्मेदवारहरुले जोडतोडले चुनाव प्रचार गरिरहेका छन् । स्थानीय तह निर्वाचन–२०७९ को चुनाव प्रचार प्रसारको आज अन्तिम दिन भएकोले शिर्षदेखि सबै तहका नेताहरु आजका विभिन्न कार्यक्रममा सहभागी हुन भ्याइनभ्याई छ ।

अन्तिम दिन भएकाले उम्मेदवार तथा राजनीतिक दलहरुले आफ्नो चुनावी प्रचारप्रसार आजै दिनभरमा टुंग्याउदैछन् । प्रचार प्रसारको अन्तिम घडीको सदुपयोग गर्दै राजनीतिक दल तथा स्वतन्त्र उम्मेदवारहरूले समेत देशभर विभिन्न स्थानमा चुनावी सभा गरेर मत माग्दैछन् । यसैक्रममा प्रमुख राजनीतिक दलका शीर्ष नेताहरु चुनावी अभियानको दौडधुपमा छन् । प्रमुख दलका शीर्ष नेताहरु आआफ्ना पार्टी र गठबन्धनका उम्मेदवारलाई मत माग्न मंगलबार दिनभर सकेसम्म धेरै स्थानमा आयोजना भएका कार्यक्रमलाई सम्बोधन गर्ने प्रयासमा लागेका छन् ।

त्यसक्रममा शीर्ष नेताहरु आफ्नो गृहजिल्ला र निर्वाचन क्षेत्रलाई प्राथमिकता दिदै त्यसबाहेक अन्य जिल्लामा हुने चुनावी सभा र कार्यकर्ता भेटघाटमा जुट्ने भएका छन् । प्रधानमन्त्री तथा काँग्रेस सभापति शेरबहादुर देउवा गृहजिल्ला डडेलधुरा, एमाले अध्यक्ष केपी शर्मा ओली झापा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रदेश २ र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले रौतहट जिल्लामा आयोजना भएका चुनावी सभालाई सम्बोधन गर्दैछन् ।

यसक्रममा देउवा मंगलबार दिनभर आफ्नो गृहजिल्लामा डडेलधुरामा आयोजना गरिएका चुनावी सभा र कार्यकर्ता भेटघाटमा व्यस्त हुँदैछन् । देउवाले औपचारिक रुपमा जिल्लामा दुईवटा सभालाई सम्बोधन गर्ने उनको नीजि सचिवालयले जनाएको छ । देउवाले त्यसबाहेक अन्य स्थानमा हुने सभालाई समेत सम्बोधन गर्नेछन् । देउवा आजको सभा सकेर गृहजिल्लामै बस्ने र बैशाख ३० को मतदान पछि मात्रै काठमाडौ फर्कनेछन् । एमाले अध्यक्ष केपी शर्मा ओलीले काठमाडौ र झापामा आयोजना भएका चुनावी सभालाई सम्बोधन गर्दैछन् । सोमबार साँझ झापा पुगेका ओली आफ्नो चुनावी क्षेत्रका विभिन्न पालिकामा आयोजना गरिएका चुनावी सभालाई सम्बोधन गर्नेछन् । झापाको कार्यक्रम सकेर ओली दिउँसो चार बजेभित्र काठमाडौ आइपुग्नेछन् । काठमाडौको भृकुटीमण्डपमा हुने सभालाई ओलीले सम्बोधन गर्ने कार्यक्रम छ ।

त्यसैगरी नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मंगलबार प्रदेश २ का ५ वटा जिल्लाका विभिन्न स्थानमा हुने चुनावी सभालाई सम्बोधन गर्दैछन् । प्रचण्डले रौतहटको पिपरा विश्रामपुर, सर्लाहीको चक्रघट्टी, महोत्तरीको बर्दिवास, धनुषाको शहिदनगर र बाराको सिमरामा आयोजना भएका चुनावी सभालाई सम्बोधन गर्दैछन् । सिमराको सभालाई सम्बोधन गरेर प्रचण्ड मंगलबार नै काठमाडौ आउनेछन् । उनी बुधबार चितवन जाने र मतदानपछि काठमाडौ फर्कने कार्यक्रम रहेको प्रचण्डको सचिवालयले जनाएको छ ।

त्यस्तै नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पनि रौतहट सर्लाही, ललितपुर र काठमाडौमा हुने सभालाई सम्बोधन गर्दैछन् । नेता नेपालको सचिवालयका अनुसार मंगलबार बिहान रौतहटका विभिन्न स्थानमा भएका चुनावी सभा र भेटघाटपछि नेता नेपाल सर्लाहीका केही स्थानमा हुने सभालाई सम्बोधन गरेर राजधानी फर्कनेछन् । राजधानी फर्केपछि नेपालले काठमाडौ महानगरपालिकाको वडा नम्बर ९ र ललितपुरको महालक्ष्मी नगरपालिकामा आयोजित चुनावी सभालाई सम्बोधन गर्दैछन् ।
निर्वाचन आयोगले जारी गरेको निर्वाचन आचारसंहिता अनुसार आज मंगलबार राति १२ बजेबाट कुनैपनि राजनीतिक दल तथा उम्मेदवारले मत माग्न पाउने छैनन् ।

जसपा केन्द्रीय समिति अध्यक्ष उपेन्द्र यादव मधेस प्रदेशका जिल्ला तहका कार्यक्रममा सहभागी हुने भएका छन् । जसपा प्रभाव क्षेत्र मधेस प्रदेश नै बढी भएकाले मौन अवधिको अघिल्लो दिन उनी मधेस प्रदेशका जिल्लामै केन्द्रीत हुने भएका हुन् ।

यसैगरी राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन मंगलबार झापामा हुने विभिन्न कार्यक्रममा सहभागी हुने भएका छन् । अब उनी झापाबाट भोट हालेर मात्रै काठमाडौं फर्किनेछन् । उनले बिहान झापाको गौरादहमा भएको कार्यक्रमलाई सम्बोधन गरे । आज दिनभर साना ठूला गरेर ११ वटा कार्यक्रम राखिएको छ । मौन अवधिको तीन दिन लिङ्देन झापामै बस्ने भएका छन् ।

उता जसपा केन्द्रीय संयोजक बाबुराम भट्टराई, कांग्रेस बरिष्ठ नेता रामचन्द्र पौडेल लगायतका नेताहरु पनि आजका विभिन्न कार्यक्रममा सहभागी हुनेछन् । आज देशभरका जिल्लाहरु र स्थानीय तहका स्थानमा सबै दलहरुले चुनावी सभा गर्दैछन् ।

प्रकाशित मिति : २७ बैशाख २०७९, मंगलबार  १ : ०० बजे