काठमाडौँ । स्थानीय चुनावमा एमालेबाट उम्मेदवार बनेका केहि व्यक्ति विवादमा आएकै बेला टोखा नगरपालिकामा एमालेबाट मेयरको उम्मेदवार बनेका प्रकाश अधिकारी पनि त्यो विवादबाट मुक्त रहेनन् ।
उनि ५ बर्षअघि ठगी मुद्दामा दोषी देखिएका व्यक्ति हुन् । उच्च अदालत पाटनबाट सहकारीको नाममा २ सय २ जनालाई ठगी गरेको अभियोगमा उनि दोषी ठहर भएका थिए । उनलाई उच्च अदालतले २०७५ फागुन १९ मा ठगी गरेको फैसला गरेका थियो ।
अधिकारीलाई नाङ्लो दीप सेभिङ एन्ड क्रेडिट को अपरेटिभ प्राली मार्फत निक्षेपकर्तालाई ठगी गरेको ठहर गर्दै अदालतले एक महिना कैद र १८ लाख ३१ हजार ८ सय ८७ रुपैयाँ बुझाउन फैसला गरेको थियो । उनी टोखाका निवर्तमान मेयर समेत हुन् ।
उच्चको फैसलाको विरुद्धमा उनी सर्वोच्च अदालतमा पुनरावेदन गएका छन् । तर उनको पुनरावेदनमा फैसला भइसकेको छैन । जिल्लाबाट आउने आदेश वा फैसला चित्त नबुझे उच्च अदालत अनि उच्च अदालतबाट आउने आदेश वा फैसला चित्त नबुझे सर्वोच्च अदालतमा पुनरावेदनका लागि जान पाउने कानुनी अधिकार छ । सोही अधिकार अनुसार उनी सर्वोच्चमा उच्च अदालतको फैसलाविरुद्ध पुनरावेदन दिएका छन् ।
उनको पुनरावेदनमा फैसला भइसकेको छैन । उनी ठगीका दोषी भए पनि माथिल्लो अदालतले पुनरावेदन स्वीकार गरेको अवस्थामा फैसला कार्यान्वयन रोकिन्छ । त्यसैले उनी अहिले पक्राउ परेका छैनन् । तर सर्वोच्च अदालतबाट उच्चको फैसला नउल्टिएसम्म उनी ठगीका दोषी भएको ठहर्छ । यिनै ठगीका दोषी अधिकारीलाई एमालेले टोखा नगरपालिकाको मेयरको उम्मेदवार बनाएको छ । उनी अहिले टोखा नगरपालिकाको जिम्मेवारी पाउनका लागि मतदाताको घरदैलोमा पुगेका छन् ।
एमालेका मेयर उम्मेदवार अधिकारीले ठगी गरेको अदालतले फैसला गरेपछि यहाँका मतदाताले उनलाई रुचाएको देखिंदैन । एमालेकै कार्यकर्ताहरुले एउटा ठग व्यक्तिलाई उम्मेदवार बनाएको भनेर पार्टी भित्र आलोचना गरिरहेका छन् । जबसम्म उनले अदालतबाट सफाई पाउँदैनन्, तबसम्म अधिकारी ठग भएकोले उनलाई भोट दिन नसकिने यहाँका मतदाताको भनाई छ ।
प्रतिक्रिया