Logo

समाचार

जुम्लामा निर्वाचन सुरक्षाको तयारी तीव्र



काठमाडौं । स्थानीय तह निर्वाचन नजिकिएसँगै जुम्लामा सुरक्षा निकायले निर्वाचन सुरक्षालाई थप कडा बनाएको छ । जिल्ला सुरक्षा समितिले भौतिक अनुगमनदेखि डिजिटल अनुगमनसम्म सुरू गरेको छ ।

प्रमुख जिल्ला अधिकारी बिजयाकुमारी प्रसाईले निर्वाचन सुरक्षाका लागि डिजिटल नक्सा समेत तयार गरेको बताइन् । उनले डिजिटल माध्यमबाटै भौगोलिक विषय र सुरक्षा अवस्थाबारे दृष्टि पुर्याउन सकिने बताइन ।

७९ मतदान स्थल, १०२ मतदान केन्द्र

प्रहरी नायब उपरीक्षक नरेन्द्र चन्दका अनुसार जुम्लामा ७९ मतदान स्थलमा १०२ वटा मतदान केन्द्र रहेका छन् । उनले भने,’तिनीहरूमध्ये १४ वटा मतदान केन्द्रमा पाँच सयभन्दा कम मतदाता छन् ।’

केही मतदान केन्द्रमा हिँडेरै जानुपर्ने र एक दिनसम्म लाग्ने प्रहरी नायब उपरीक्षक नरेन्द्र चन्दले बताए । त्यसका लागि सुरक्षा निकायले स्थलगत अनुगमन तथा अवस्थाको विषयमा जानकारी लिई सुरक्षा योजना तयार पारिसकेको छ । यसैगरी, जिल्लाका मतदान स्थलहरूमा एक महिनाअघिदेखिनै सुरक्षा निकायले अनुगमन थालेको छ ।

निर्वाचन स्थल अनुगमनमा प्रजिअ प्रसाईसहित नेपाली सेनाको नन्द बक्स गणका गणपति रविन थापा, सशस्त्र प्रहरी ३३ नम्बर गणका गणपति चित्रङ्गत दाहाल, नेपाल प्रहरीका प्रहरी नायब उपरीक्षक नरेन्द्र चन्द सहितको टोली सहभागी छ ।

प्रकाशित मिति : १९ बैशाख २०७९, सोमबार  १ : १२ बजे