Logo

मुख्य समाचार

काठमाडौं मेयरकी उम्मेदवार सिर्जना सिंहलाई प्रश्न– नेताको श्रीमती हुँदा सहज रूपमा टिकट पाउनुभएको हो ?



काठमाडौं । नेपाली कांग्रेसले काठमाडौं महानगरपालिकाको मेयरमा नेता प्रकाशमान सिंहकी पत्नी सिर्जनालाई अघि सारेको छ । उनले मेयरको टिकट पाएसँगै उनीमाथि नेताको पावरको आधारमा टिकट पाएको चर्चा चलिरहेको छ । तर, उनले आफु प्रकाशमानसिंहको पत्नी नभई राजनीतिक योगदानको आधारमा टिकट पाएको दाबी गरिन् ।

राष्ट्रियसभा गृहमा पाँच दलीय गठबन्धनको तर्फबाट उम्मेदवारी दिएपछि उनले आफुले पार्टीमा ठूलो योगदान गरेको बताइन् । नेताको पत्नी भएकाले तपाईले सहज रूपमा टिकट पाउनुभयो भन्ने पत्रकारको प्रश्नमा उनले भनिन्, ‘हो म गणेशमानसिंह बुहारी, प्रकाशमानसिंहको श्रीमती हो । यो कुरा कतै लुकाएर लुक्दैन् । प्रकाशमानलाई चिन्नुभन्दा अगाडि मेरो आफ्नो राजनीतिक योगदान पार्टीमा थियो ।’

‘देशमा प्रजातन्त्र ल्याउन धेरै संघर्ष गरेको उनले स्मरण गराईन् । देशमा प्रजातन्त्र ल्याउन, महिलाहरूको हकहितका लागि धेरै संघर्ष गर्दै आएको व्यक्ति हुँ । मैले हनुमानढोका छिँडी धेरै कटाएको छु,’ उनले भनिन्, ‘प्रजातन्त्र ल्याउन मेरो आफ्नै योगदान छ । बिहे गरेपछि मैले राजनीति छोडेन् । तर, कुनै पनि पदमा बसिन् । घरका सबै जना राजनीतिमा भएकाले कुनै पद ओगटेर बसेको थिईन् । तर, मैले राजनीतिक रूपमा गर्नुपर्ने कामहरू गर्दै आएकी थिइन् ।’

भातृ संगठनमा, महिला संघमा रहेर लामो समयदेखि काम गर्दै आइरहेको उनको भनाइ छ । उनी अहिले पनि नेपाली कांग्रेस महिला संघ काठमाडौंको प्रमुख सल्लाहकार रूपमा जिम्मेवारी बहन गर्दै आएकी छिन् ।

उनीमाथि १४ औं महाधिवेशनमा प्रकाशमानसिंहले शेरबहादुर देउवालाई सहयोग गरेको कारण टिकट पाएको आरोप लाग्दै आएको छ । तर, उनले भने त्यो आरोप निराधार रहेको बताइन् ।

‘म जीवनभर लोकतन्त्रको लागि लडेर आएको परिवारको मान्छे हुँ । मैले राजनीतिक परिवर्तनका लागि लामो संघर्ष गरेर आएको हुँ । पार्टीले मलाई मेरो क्षमता र पार्टीमा पु¥याएको योगदानको आधारमा टिकट दिएको हो ।’ सिंहले भनिन् ।

प्रकाशित मिति : १२ बैशाख २०७९, सोमबार  ६ : ३३ बजे