Logo

Breaking News 1

अर्थतन्त्र ठिकै छ, गलत प्रचार गरेर बदनाम गरियोः अर्थमन्त्री



काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले देशको अर्थतन्त्र बाहिर प्रचार गरिएजस्तो संकटको अवस्थामा नरहेको स्पष्ट पारेका छन् ।

‘जनता र व्यवसायीलाई हतोत्साहित गर्ने गरी नकारात्मक प्रचारबाजी गरियो,’अर्थ मन्त्रालयमा सोमबार आयोजित पत्रकार सम्मेलनमा शर्माले भने, ‘अर्थतन्त्रमा संकट आएको भन्ने गलत हो । देशमा के के न हुुन लाग्यो भन्ने ढङ्गले प्रचार भइरहेको छ । तर अर्थतन्त्रलाई आफ्नै नियमित गतिमा चल्न दिनुपर्छ । अर्थव्यवस्थाको राजनीतिकरण गरेर देशलाई फाइदा हुँदैन ।’

उनले अर्थतन्त्रका विभिन्न आँकडाहरू प्रस्तुत गर्दै आफूहरू सतर्क रहेको बताए । अर्थमन्त्री शर्माले आयात बढेर देशको अर्थतन्त्रमा दवाव सिर्जना भएको भने स्वीकार गरेका थिए ।

उनले भने, ‘वस्तु आयातमा भएको उच्च वृद्धिका कारण व्यापार घाटा बढेर अर्थतन्त्रमा दवाव सिर्जना भएको छ । आयात र निर्यात अघिल्लो आवको तुलनामा ३३.९ प्रतिशत र ७२.८ प्रतिशत बढेको छ ।’ विश्वबजारमा पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिले व्यापार घाटामा चाप पैदा गरेको उनको भनाइ छ ।

अर्थमन्त्री शर्माले अर्थतन्त्रका समष्टिगत सामान्य रहेको दाबी गरेका छन् । बाह्य क्षेत्रमा केही दबाब हुनुबाहेक अर्थतन्त्रका अन्य परिसूचकहरू सामान्य रहेको अर्थमन्त्री शर्माले बताएका हुन् ।

मन्त्री शर्माले वाह्य क्षेत्रमा देखिएको दबाब समाधान गर्न आयात व्यवस्थापन र विदेशी विनिमय सञ्चितिलाई बढावा दिनेगरी कदम चालिएको बताएका छन् ।

गत आर्थिक वर्षमा कोरोना महामारीलगायत कारणले लक्ष्यअनुसार आर्थिक वृद्धि हासिल नभएपनि चालू आर्थिक वर्षमा वृद्धिदरमा सकारात्मक प्रभाव पर्ने देखिएको अर्थमन्त्रीले दाबी गरेका छन् । सरकारले चालू आर्थिक वर्षमा ७ प्रतिशत आर्थिक वृद्धिदर हासिल गर्ने लक्ष्य लिएको छ ।

कोरोना महामारीका कारण प्रभावित आर्थिक गतिविधि सामान्यीकरण हुँदै गएको, २०७६ फागुनको तुलनामा २०७८ कात्तिक महिनामा करिब ९८ प्रतिशत उद्योग/व्यवसाय सञ्चालनमा आएको, उद्योग दर्ता र प्रत्यक्ष वैदेशिक रोजगारीमा पनि सुधार हुँदै गएको अर्थमन्त्रीले उल्लेख गरेका छन् । यसका कारण पनि आर्थिक वृद्धिदरमा सकारात्मक प्रभाव पर्ने उनले बताएका हुन् ।
विपक्षी दलले सरकारको बदनाम गर्न अनाबस्यक हल्ला मच्चाएको मन्त्री शर्माले बताए ।

शर्माले राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीमाथि सुरु गरिएको छानबिन ऐनअनुसारै भएको दाबी गरेका छन् । मन्त्रिपरिषद् बैठकले गत बिहीबार अधिकारीमाथि छानबिन गर्ने निर्णय गरेको थियो । छानबिन सुरु भएसँगै उनी निलम्बनमा परेका छन् ।

उनले छानबिन समितिले एक महिनाभित्र निचोड निकाल्ने बताए । अहिले छानबिन समितिलाई काम गर्न दिनुपर्ने भन्दै यो विषयमा धेरै बोल्न आवश्यक नरहेको बताए ।

प्रकाशित मिति : २८ चैत्र २०७८, सोमबार  ५ : ३१ बजे