Logo

समाचार

सुदूरपश्चिम स्पोर्टस अवार्डः सुप आईकन महिला र पुरुष विधाको मनोनयन सार्वजनिक 



काठमाडौं । धनगढीमा हुने तेस्रो ‘एसपिए सुदूरपश्चिम स्पोर्टस अवार्ड २०७८’ अन्तर्गतका थप दुई विधाको मनोनयन सार्वजनिक भएको छ । नेपाल खेलकुद पत्रकार मञ्च कैलालीले आयोजना हुने तेस्रो एसपीए सुदूरपश्चिम स्पोर्टस अवार्डको सुदूरपश्चिम आइकन पुरुष र महिला विधाको मनोनयन सार्वजनिक भएको हो । 

सुदुरपश्चिम आइकन पुरुषको मनोनयनमा फुटबलका कुवेर सिंह, क्रिकेटका अर्जुन साउँद र भारात्तोलनका अशोक भण्डारी मनोनयनमा परेका छन् । त्यस्तै सुदुरपश्चिम आइकन महिला तर्फ क्रिकेटकी कविता कुँवर, बक्सिङकी स्वस्तिका तिरुवा र तेक्वान्दोकी गीता कठायत मनोनयनमा परेका छन् । 

कुवेर सिंहको कप्तानीमा कैलालीको स्टार सिटी एन्फा प्रेसिडेन्ट कप च्याम्पियन बनेको थियो । त्यस्तै उनकै कप्तानीमा बाजुराको रानीवन क्लब सि डिभिजन छनोट भएको थियो । उनकै नेतृत्वमा रहेको विजय स्पोर्टस क्लब जिल्ला च्याम्पियन बनेको थियो । 

अर्जुन साउँदले डेब्यु गर्दै प्रधानमन्त्री कपमा पहिलो शतक हानेका थिए । उनले एसीसी अण्डर १९ क्रिकेट प्रतियोगितामा श्रीलंका विरुद्ध अर्धशतक बनाएका थिए । अशोक भण्डारीले २४ औं राष्ट्रिय भारात्तोलन प्रतियोगितामा सुदुरपश्चिमलाई स्वर्ण जिताएका छन् । 

उनी सोही प्रतियोगितामा उदयमान र सम्भाव्य खेलाडीको उपाधि जितेका थिए । त्यस्तै राजविराजमा भएकोमा भारात्तोलन प्रतियोगितामा पनि स्वर्ण जितेका थिए ।

क्रिकेटर कविता कुँवरले आईसीसी महिला टी–२० विश्वकप एसिया क्षेत्र छनोटमा सहभागी हुँदै नेपाली टोलीबाट डेब्यु गरेकी छिन् । प्रधानमन्त्री कप महिला राष्ट्रिय प्रतियोगितामा ४ खेलमा ७ विकेट र ४० रनको योगदान दिएकी थिइन् । ललितपुर मेयर कपमा सुदूरपश्चिम उपविजेता हुँदा ५ खेलमा ४० रन र बनाउँदै उत्कृष्ट बलिङ गरेकी थिइन् । 

स्वस्तिका तिरुवाले युएईमा सञ्चालन भएको जुनियर तथा युथ ब्वाइज एण्ड गर्ल्स बक्सिङ च्याम्पियनसिपमा नेपाललाई कास्य पदक दिलाएकी छिन् । उनले पहिलो अन्तर्राष्ट्रिय प्रतियोगितामै पदक जितेकी हुन् । जोर्डनमा आयोजित बक्सिङ प्रतियोगितामा उनले तीन चरण पार गरेकी थिइन् । 

त्यस्तै तेक्वान्दोकी गीता कडायतले हालै काठमाडाैँमा भएको राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा स्वर्ण जितेकी छिन् । उनले काठमाडाैँमा भएको मेयर कपमा रजत पदक जितेकी थिइन् । 

अवार्डको मुख्य प्रायोजकमा धनगढीको सुदुरपश्चिमाञ्चल एकेडेमी रहेको छ । ‘एसपिए सुदूरपश्चिम स्पोर्टस अवार्ड’ को तेस्रो संस्करणको मुख्य प्रवर्द्धकमा सुदूरपश्चिम प्रदेश खेलकुद परिषद् छ ।प्रवर्द्धकमा धनगढी उपमहानगरपालिका र राष्ट्रिय खेलकुद परिषद् छन् । 

त्यस्तै वर्षको पुरुष खेलाडी विधालाई काठमाण्डौंको मास ह्युम रिर्सोस र वर्ष महिला खेलाडी विधालाई वनदेवी युवा क्लबले प्रायोजन गरेको छ । वर्ष युवा खेलाडीलाई निर्ग अस्पताल वर्ष प्रशिक्षकलाई सारथि अस्पताल, सुदूरपश्चिम आइकन पुरुष विधालाई माया मेट्रो हस्पिटल,  सुदूरपश्चिम आइकन महिला विधालाई मेरो रेडिमेड उद्योगले प्रायोजन गरेको छ । 

त्यस्तैगरी स्पेशल अवार्डलाई गरिमा पोलिक्लिनिक तथा राजधानी डेन्टल होमले प्रायोजन गरेको छ । अवार्डको सह–प्रायोजकमा केल्मी र नवजीवन को–अपरेटिभ्स रहेको छ । 

विभिन्न आठ विधामा दिइने अवार्डको तेस्रो संस्करणको तयारी तिव्र रुपमा भईरहेको छ । उच्च प्रदर्शन गरेका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा सफल भएका खेलाडी र प्रशिक्षक गरी विभिन्न आठ विधामा अवार्ड दिइनेछ । 

उत्कृष्ट खेलाडी पुरुष र महिला, उत्कृष्ट प्रशिक्षक, वर्ष युवा खेलाडी, स्पेसल अवार्ड, लाइफ टाइम एचिभमेन्ट अवार्ड, सुदूरपश्चिम आइकन महिला र पुरुष विधामा अवार्ड प्रदान गरिनेछ । 

उत्कृष्ट खेलाडी पुरुष र महिला विधाका विजेतालाई ३५/३५ हजार, उत्कृष्ट प्रशिक्षकलाई ३० हजार, वर्ष युवा खेलाडी, स्पेसल अवार्ड र लाइफ टाइम एचिभमेन्ट अवार्डका विजेतालाई २५/२५ हजार नगदबाट पुरस्कृत गरिने आयोजक नेपाल खेलकुद पत्रकार मञ्च कैलालीले जनाएको छ । 

यस्तै सुदूरपश्चिम आइकन महिला र पुरुष विधाका विजेतालाई नगद २० हजार सहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ । 
 

प्रकाशित मिति : २५ चैत्र २०७८, शुक्रबार  २ : ३२ बजे