Logo

विश्व

सरकारमा सहभागी हुन श्रीलंकाका राष्ट्रपतिले गरेको प्रस्तावलाई विपक्षीले गरे अस्वीकार



काठमाडौं । श्रीलंकाका विपक्षी पार्टीहरूले राष्ट्रपति गोटाबाय राजापाक्षेले सरकारमा सहभागी हुन गरेको प्रस्तावलाई अस्वीकार गरेका छन् ।

देशमा खाद्यान्न, इन्धन र औषधिलगायतका अत्यावश्यक बस्तुको अभाव भएको भन्दै विपक्षीले राष्ट्रपतिको राजीनामा मागेको छ । 

राष्ट्रपतिले पूर्ण मन्त्रिपरिषद् नियुक्त नभएसम्म संसदको वैधानिकता र स्थायित्व कायम राख्न चार मन्त्रीहरूको नाम तोकेका छन् । 

विदेशी मुद्रा संकट र भुक्तानी सन्तुलनको समस्याले उत्पन्न आर्थिक अवस्थालाई गलत ढंगले व्यवस्थापन गरिएको भन्दै सर्वसाधारणले सरकारविरुद्ध प्रदर्शन गर्दै आएका छन् ।

प्रदर्शन नियन्त्रण गर्न सरकारले कर्फ्यू घोषणा गरेको थियो । आर्थिक संकटको विरोधमा उत्रिएका सर्वसाधारण नागरिकले केही दिनअघि राष्ट्रपतिको निवासअगाडि प्रदर्शन गरेका थिए । 

प्रकाशित मिति : २२ चैत्र २०७८, मंगलबार  ११ : ०५ बजे