Logo

समाचार

दुधकोसी जलविद्युत आयोजनालाई साढे २४ हजार रोपनी जग्गा अधिग्रहणको तयारी



खोटाङ । ६३५ मेगावाट क्षमताको दुधकोसी जलाशययुक्त जलविद्युत आयोजनाका लागि साढे २४ हजार रोपनी जग्गा अधिग्रहणको तयारी सुरू भएको छ । खोटाङको रावाबेँसी गाउँपालिका–३ लामीडाँडा र ओखलढुंगाको चिसंखुगढी गाउँपालिका–६ भदौरेको सीमानामा पर्ने जलविद्युत आयोजनाले ओगट्ने खोटाङ, ओखलढुंगा र सोलुखुम्बुका जग्गा अधिग्रहणको प्रकृया अघि बढाइएको हो ।

वहुचर्चित आयोजनाको निर्माणका क्रममा खोटाङको १३ हजार रोपनी, ओखलढुंगाको नौ हजार रोपनी र सोलुखुम्बुको पाँच सय रोपनी जग्गा अधिग्रहणको प्रक्रिया अघि बढेको हो । ओखलढुंगाको जग्गा प्राप्ति (अधिग्रहण)का लागि २३ फागुनमा सूचना निकालिएको थियो । सरकारी जग्गा बाहेक करिब २० हजार रोपनी जग्गा अधिग्रहण हुने अनुमान गरिएको दुधकोसी जलाशययुक्त जलविद्युत आयोजनाका उपनिर्देशक सिताराम प्रखाछेँले बताए ।

आयोजनाका अनुसार खोटाङको रावाबेँसी गाउँपालिकाका पाँच हजार तीन सय चार कित्ता, ऐसेलुखर्क गाउँपालिकाका पाँच सय २२ कित्ता, ओखलढुंगाको चिसंखुगढी गाउँपालिकाका दुई हजार चार सय नौ कित्ता जग्गा अधिग्रहणको तयारी गरिएको छ । सोलुखुम्बुको जग्गा अधिग्रहणका लागि केही समयपछि जग्गा प्राप्तिसम्बन्धी सूचना आह्वान गर्न लागिएको उपनिर्देशक प्रखाछेँले बताए ।

सम्बन्धित क्षेत्रका जिल्ला प्रशासन कार्यालयमार्फत जग्गा प्राप्तिको प्रक्रिया थालेसँगै प्राप्ति गरिने जग्गा रोक्का भएको र उक्त क्षेत्रमा कुनै पनि संरचना बनाउने वा थप्ने कार्यमा रोक लगाइएको छ । खोटाङतर्फको जग्गा गत २३ असारदेखि नै रोक्का छ । तर, हलेसी तुवाचुङ नगरपालिका–८ धितुङमा निर्माण गरिने पावर हाउस, क्याम्प तथा लामीडाँडामा निर्माण गरिने ड्याम र क्याम्पका लागि आवश्यक जग्गा अधिग्रहणका लागि पनि २६ फागुनमा अर्को सूचना प्रकाशन गरिएको छ । यसका लागि थप दुई हजार रोपनी जग्गा अधिग्रहण हुने आयोजनाले जनाएको छ ।

जलविद्युत आयोजनाका लागि खोटाङमा भने मुआब्जा वितरण गर्न जग्गाको मूल्यांकन अन्तिम चरणमा पुर्‍याइएको मुआब्जा निर्धारण उपसमितिका संयोजक एवं सहायक प्रमुख जिल्ला अधिकारी विकल श्रेष्ठले बताए । ‘कसको कति जग्गा परे, कस्तो खालका परे ? सरकारी कति परे भन्ने विवरण आइसकेको छ,’ श्रेष्ठले भने, ‘अब कुन प्रकृतिको जग्गालाई कति, कसरी मुआब्जा भनेर मूल्यांकन भइरहेको छ ।’

लामीडाँडाको रभुवाबजारमा दुई सय मिटर अग्लो बाँध हालेर बनाइने जलाशयबाट १३.३० किलोमिटर हेडरेस सुरुङमार्फत धितुङमा पानी खसाएर विद्युत उत्पादन गर्ने लक्ष्यका साथ आयोजना अघि बढिरहेको छ ।

प्रकाशित मिति : २१ चैत्र २०७८, सोमबार  १२ : ५७ बजे