लमजुङ । गत १ असारमा मर्स्याङदी नदीको बाढीले विद्यालय बगाएपछि मनाङको नासों गाउँपालिका–१ तालमा रहेको भानु माविका विद्यार्थी टेण्टमुनी बसेर पढ्नुपरेको छ ।
कक्षा ९ मा अध्ययनरत प्रतिक गुरुङले टेण्टमुनी बसेर पढ्न निकै गाह्रो हुने गरेको बताए । जाडोमा धेरै जाडो र गर्मीमा धेरै गर्मी हुँदा टेण्टमुनी पढ्न समस्या भइरहेको उनको भनाई छ ।
कक्षा १० मा पढ्ने माया गुरुङ पनि टण्टलापुर घाममा टेण्टमा बसेर पढ्न धेरै गाह्रो भएको बताउँछिन् । विद्यालयमा पढाउने वातावरण नभएकाले चौरमा टेण्ट राखेर पढाइ सञ्चालन गरेको भानु माविका प्रअ श्यामकृष्ण पन्तको भनाइ छ ।
उनी भन्छन्, ‘बाढीले विद्यालय भवन बगाएपछि अहिले बाल कक्षादेखि १० कक्षा सम्मका विद्यार्थीलाई अस्थायी टेण्टमा राखेर पठनपाठन गराउँदै आएका छौँ ।’ विद्यालयमा १० कक्षासम्म पठनपाठन हुने गरेको छ । ताल गाउँको सिङ्गो बस्तीसँगै विद्यालय पनि पूर्ण रुपमा जोखिममा परेपछि विद्यालयमा पठनपाठन गर्ने ठाउँ नै नभएको प्रअ पन्तले बताए ।
२०३२ सालमा स्थापना भएको विद्यालयको भवन नै बाढीपहिरोले बगाएपछि मनाङसहित लमजुङका विद्यार्थी शिक्षाबाट वञ्चित भएका छन् । मनाङमा रहेको चार माध्यमिक विद्यालयमध्ये तीन वटा विद्यालयमा बाढीले क्षति पुर्याएको छ । भानु माविसँगै नासों गाउँपालिका–६ थोंचेस्थित डाँडाको टाकुरामा रहेको प्रकाशज्योति मावि र सदरमुकाम चामेमा रहेको लोकप्रिय मावि पनि मर्स्याङदी नदीमा आएको बाढीले पूर्ण रुपमा क्षति पुर्याएको छ ।
मनाङमा २६ वटा सामुदायिक विद्यालय र एउटा निजी विद्यालय छन् । मनाङमा ४ वटा मावि, ८ वटा आधारभुत र १५ वटा प्रावि छन् ।
पठनपाठनमा प्रभावित भएको भन्दै गाउँपालिकाले अस्थायी टहरा निर्माण गर्न बजेट विनियोजन गरेको छ । नासों गाउँपालिकाका अध्यक्ष चन्द्र घलेले अस्थायी टहरा निर्माणका लागि १० लाख बजेट छुट्याएको बताए ।
प्रतिक्रिया