Logo

समाचार

जुम्लाको हिमा गाउँपालिकालाई बालविवाहमुक्त घोषणा गर्ने तयारी



जुम्ला । जुम्लाको हिमा गाउँपालिकालाई बालविवाहमुक्त घोषणाको तयारी गरिएको छ । संविधान र बालबालिका सम्बन्धी ऐनले बालविवाह निषेध गरेकाले अभियानलाई सफल बनाउन गाउँपालिकाले पनि बालविवाहमुक्त घोषणा गर्न थालेको हो ।

बालविवाहले नै समाजिक, आर्थिक लगायतका हिंसा निम्त्याएको भन्दै यसलाई रोक्ने हिमा गाउँपालिकाले कार्यविधिसमेत बनाएको छ ।

गाउँपालिका अध्यक्ष रजबहादुर शाहीका अनुसार बालविवाहसम्बन्धी सूचक तयार पारेर विद्यालय र वडा स्तरमा सचेतनाका कार्यक्रम सञ्चालनमा छन् । ‘कक्षा ८ देखि १० सम्मका किशोरकिशोरीले पनि बिवाह गरेको पाइयो । यसलाई रोक्न विद्यालयस्तरमा कक्षा दिन थालिएको छ,’ उनले भने ।

गाउँपालिका उपाध्यक्ष हिमाली रोकायाका अनुसार केही दिन भित्र बालविवाहमुक्त घोषणा गरिनेछ । सात वटै वडाको तथ्यांक हेर्दा हेर्दा ८२.२ प्रतिशतले बालविवाह रोकिएको उनले बताइन् ।

प्रमुख प्रशासकीय अधिकृत रणबहादुर बुढाले बालविवाहको क्षेत्रमा सूचक बनाएयर काम गर्ने यो पालिका भएको दाबी गरे । उनका अनुसार बालविवाहमुक्त गाउँ (टोल) हुँदै वडा घोषणा गरिने छ । त्यसपछि पालिकालाई नै बालविवाहमुक्त घोषणा गरिनेछ ।

जुम्ला जिल्लाका सरकारी वकिल रेनुका राईले २० वर्षभन्दा कम उमेरमा विवाह गर्नु गैरकानुनी रहेको बताइन् । बालविवाह गर्ने गराउनेलाई ३ वर्ष कैद र जरिवानाको व्यवस्था रहेको बताउँदै उनले त्यस्तो विवाह नै स्वतः रद्द हुने बताइन् ।

प्रकाशित मिति : २० चैत्र २०७८, आइतबार  ९ : ३८ बजे