Logo

कर्णाली प्रदेश

जिल्ला सुरक्षा समितिले तीन मतदान केन्द्रको अनुगमन गर्‍यो



सिमकोट । स्थानीय निर्वाचनको मिति नजिकिँदै गर्दा जिल्ला सुरक्षा समितिले हुम्ला जिल्लाका तीन वटा मतदान केन्द्रको अनुगमन गरेको छ ।

मतदान केन्द्र र स्थलको पछिल्लो अवस्थाबारे जानकारी लिन समितिका संयोजक समितिको टोलीले अनुगमन गरेको जिल्ला निर्वाचन कार्यालय स्रोतले जानकारी गराएको छ ।

समितिका सदस्यले अनुगमन गरिएका मतदान केन्द्रमा भीमसेन आधारभूत विद्यालय, बालविकास र कालाशिल्ता मावि गरी सिमकोट गाउँपालिकाका तीन वटा मतदान केन्द्रको स्थलगत रूपमा अनुगमन गरिएको समितिका संयोजक प्रमुख जिल्ला अधिकारी सीता परियारले बताए ।

मतदान कार्यका लागि १८ चैत्रमा गरिएको अनुगमनमा सिमकोट गाउँपालिकामा रहेका तीन वटै केन्द्र सुरक्षाका हिसाबले सामान्य रहेको मतदान केन्द्रको स्थलगत अनुगमने समितिले बताएको छ ।

प्रमुख जिल्ला अधिकारी सीता परियारको संयोजकमा रहेको समितिले मतदान गर्नका लागि मतदान केन्द्र र मतदान स्थलमा आवश्यक पूर्वाधारको अवस्था राम्रो रहेको जानकारी दिइन् ।

मतदान केन्द्रको स्थलगत अनुगमन समिति संयोजक परियारले तीन वटै मतदान केन्द्र मतदानका लागि व्यवस्थित रहेका कारण निर्वाचन गराउन सहज हुने बताइन् ।

सिमकोट गाउँपालिकामा रहेको तीन वटै मतदान केन्द्र मतदान कार्य गर्न सहज रहेकाले सुरक्षा प्रदान गर्न पनि सहज हुने समितिले निष्कर्ष निकालेको छ । समितिले जिल्लाका अन्य ५४ वटा मतदान केन्द्रको पनि अनुगमन जारी राख्ने समितिले जनाएको छ ।

हुम्ला जस्तो जिल्लामा रहेको ५४ वटा मतदान केन्द्रको समितिले अब अतिसंवेदनशील र संवेदनशील मतदान केन्द्रको पनि अनुगमन गर्ने जनाएको छ ।

अनुगमन गर्नका लागि जिल्ला न्यायाधीश एवं प्रमुख निर्वाचन अधिकृत जगत्बहादुर पौडेल, प्रहरी नायव उपरीक्षक कृष्णराज ओझा, गुल्मपति गणेश खड्का, सशस्त्र प्रहरी नायव उपरीक्षक गेहेन्द्र भण्डारीलगायत सहभागी रहेको समितिले जानकारी दिएको छ ।

हुम्ला जिल्लाको स्थानीय तहको निर्वाचनका लागि हुम्लामा दुई वटा उपकेन्द्रसहित ५४ वटा मतदान केन्द्र निर्धारण गरिएका छन् । जसमा मतदानका लागि नौ वटा अति संवेदनशील, ३० वटा संवेदनशील र १३ वटा मतदान केन्द्रलाई सामान्य रहेको सुरक्षा समितिले निष्कर्ष निकालेको छ ।

प्रकाशित मिति : १८ चैत्र २०७८, शुक्रबार  ५ : ३९ बजे