काठमाडौं । नेपाली प्रविधि कम्पनीका उत्पादन तथा सेवाको बजार विस्तार, स्टार्टअप प्रवद्र्धन र अन्तर्राष्ट्रिय व्यावसायिक साझेदारीलाई प्राथमिकता दिँदै आजदेखि ‘आकाशटेल नास–आईटी एक्स्पो २०२६’ सुरु भएको छ । दुई दिनसम्म सञ्चालन हुने एक्स्पोमा ३० भन्दा बढी प्रविधि कम्पनी सहभागी हुनेछन् ।
्यस वर्ष पहिलोपटक स्टार्टअप प्याभिलियन र विषयगत प्यानल छलफलसमेत आयोजना गरिने आयोजकले जनाएको छ ।
नास–आईटीका अध्यक्ष दिपेन चापागाईंले नेपाली सूचना प्रविधि उद्योगमा आबद्ध कम्पनीका साझा समस्या समाधान, अवसरको पहिचान र बजार विस्तारका लागि संस्थाको स्थापना गरिएको बताए । करिब चार वर्षअघि स्थापना भएको नास–आईटीले नीतिगत सुधार, अन्तर्राष्ट्रिय बजार प्रवद्र्धन र नेपाली प्रविधि कम्पनीको क्षमता अभिवृद्धिका क्षेत्रमा काम गर्दै आएको उनले जानकारी दिए ।
उनले भने, ‘ नेपाली सूचना प्रविधि क्षेत्रमा काम गर्ने कम्पनीहरूले भोगिरहेका साझा चुनौती समाधान गर्ने र यस क्षेत्रमा रहेका अवसरलाई पहिचान गरी उपयोग गर्ने उद्देश्यले करिब चार वर्षअघि नास–आईटी स्थापना गरेका हौँ । स्थापनाकालदेखि नै हामीले आईटी उद्योगलाई प्रभाव पार्ने नीतिगत विषयमा काम गर्दै आएका छौँ । त्यससँगै नेपाली प्रविधि कम्पनीका उत्पादन तथा सेवाको अन्तर्राष्ट्रिय बजार विस्तारका लागि स्विट्जरल्यान्ड, बेलायत, अमेरिका र अस्ट्रेलियालगायतका देशमा विभिन्न प्रवद्र्धनात्मक गतिविधि पनि सञ्चालन गरेका छौँ ।’
पछिल्लो समय सरकारी तथा निजी क्षेत्रमा डिजिटल प्रविधिको प्रयोग बढ्दै गएको अवस्थामा स्वदेशमै उत्पादन भएका सफ्टवेयर तथा आईटी सेवाको बजार विस्तार गर्न साझा प्लेटफर्म आवश्यक देखिएको उनले बताए ।
सोही उद्देश्यअनुसार गत वर्ष पहिलोपटक नास–आईटी एक्स्पो आयोजना गरिएको चापागाईंले जानकारी दिए । पहिलो संस्करणमा नेपाली बजारमा उपलब्ध प्रविधिजन्य उत्पादन तथा सेवाका उत्पादक र सम्भावित ग्राहकलाई एउटै स्थानमा ल्याएर व्यावसायिक अन्तरक्रियाको अवसर सिर्जना गरिएको थियो । पहिलो संस्करणको उत्साहजनक सहभागितापछि यस वर्ष दोस्रो संस्करण आयोजना गरिएको उनले बताए ।
यस वर्षको एक्स्पोमा प्रविधि कम्पनीहरूले आफ्ना उत्पादन तथा सेवा प्रदर्शन गर्नुका साथै सम्भावित ग्राहक, लगानीकर्ता र व्यावसायिक साझेदारसँग प्रत्यक्ष संवाद गर्ने अवसर पाउनेछन् । विशेषगरी पहिलोपटक समावेश गरिएको स्टार्टअप प्याभिलियनले नयाँ उद्यम तथा नवप्रवर्तनमा आधारित व्यवसायलाई आफ्ना उत्पादन र सेवा प्रदर्शन गर्ने अवसर प्रदान गर्ने आयोजकको अपेक्षा छ ।
अध्यक्ष चापागाईंले सूचना प्रविधि क्षेत्रको विकासका लागि सरकारबाट भइरहेका नीतिगत सुधारका प्रयासलाई सकारात्मक रूपमा लिएको बताए। पछिल्ला वर्षमा आईटी क्षेत्रलाई सहयोग पुग्ने गरी विभिन्न नीतिगत सुधारका काम अघि बढेको उल्लेख गर्दै उनले आगामी दिनमा पनि उद्योगमैत्री नीति तथा कार्यक्रम आवश्यक रहेको बताए ।
त्यसैगरी, नेपाली प्रविधि कम्पनीलाई अन्तर्राष्ट्रिय बजारमा स्थापित गर्न सरकारी निकाय, अन्तर्राष्ट्रिय संस्था र निजी क्षेत्रबीच सहकार्य आवश्यक रहेको उनको भनाइ छ ।
उनले भने, ‘ पछिल्लो दुई वर्षमा सूचना प्रविधि क्षेत्रलाई सहयोग पुग्ने गरी सरकारले विभिन्न नीतिगत सुधारका काम अघि बढाएको छ । अहिले पनि यस क्षेत्रलाई थप सहयोग पुग्ने नीतिगत सुधारका विषयमा काम भइरहेको जानकारी पाएका छौँ। आगामी दिनमा पनि आईटी उद्योगको विकास र विस्तारका लागि उद्योगमैत्री नीति तथा कार्यक्रम आवश्यक छन्। नेपाली प्रविधि कम्पनीलाई अन्तर्राष्ट्रिय बजारमा पु¥याउन सरकार, अन्तर्राष्ट्रिय निकाय र निजी क्षेत्रबीच सहकार्य तथा समन्वय पनि उत्तिकै महत्त्वपूर्ण छ ।’








प्रतिक्रिया