Logo

खेलकुद

आठौं प्रधानमन्त्री कप महिला भलिबलको तयारी सकियो, सात टिमबीच प्रतिस्पर्धा हुने



नेपालगन्ज । प्रधानमन्त्री कप आमन्त्रण महिला भलिबल प्रतियोगिताको आठौं संस्करणको सम्पूर्ण तयारी पुरा भएको आयोजकले जनाएको छ । सर्वाधिक पुरस्कार राशिको मोफसलको सो प्रतियोगितामा नेपाल–भारतका विभिन्न सात टिमले प्रतिस्पर्धा गर्ने भएका छन् ।

बुधबार नेपालगन्ज रंगशालास्थित सचिवालयमा आयोजित पत्रकार भेटघाटमा पिएमकपका संस्थापक अध्यक्ष टीएस ठकुरीले प्रतियोगिताको सबै तयारी पुरा भएको जानकारी दिए । उनले यसपटकको प्रतियोगिता कोभिड–१९ को संक्रमणका कारणले निर्धारित समय भन्दा केही ढिलो सुरु हुन लागेको बताए ।

नेपाल भलिबल संघको स्वीकृतिमा हुने प्रधानमन्त्री कप चैत १० देखि १४ गतेसम्म नेपालगन्ज रंगशालास्थित कभर्डहलमा हुने भएको हो । प्रधानमन्त्री कप भलिबल प्रतियोगितालाई नेपालगन्जको चिनारीको रूपमा विकास गर्ने हाम्रो प्रयास भएको सो प्रतियोगिताको मुलआयोजक समिति संयोजक लुम्बिनी प्रदेश सदस्य कृष्णा केसी नमुनाले जानकारी दिइन् ।

उनले दक्षिण एसियाकै नम्बर एक क्लब च्याम्पियनसीपका रूपमा प्रधानमन्त्री कप महिला भलिबललाई स्थापित गराउने लक्ष्य रहेको दाबी गरिन् ।

प्रतियोगितामा आयोजकसहित नेपालका शीर्ष चार र भारतका दुई टिमको सहभागिता रहने छ । लिगमा नकआउट प्रणालीमा सञ्चालन हुने प्रतियोगितामा नेपाल पुलिस क्लब, नेपाली सेनाको त्रिभुवन आर्मी क्लब, न्यु डायमन्ड एकेडेमी, आयोजक लुम्बिनी युनाइटेड, भारतको छत्तीसगढ स्पोर्ट्स एकेडेमी (महाराष्ट्र) र हरियाणा स्पोर्ट्स क्लब रहेका छन् ।

नेपाली भलिबलको सर्वाधिक धनराशिको पुरस्कार रहेको प्रतियोगिताको विजेताले ५ लाख उपविजेताले २ लाख पचास हजार तेस्रोले १ लाख र चौंथो हुने टोलीले ५० हजार नगद सहित पदक र प्रमाण पत्र प्राप्त गर्नेछन् । सोही अवसरमा प्रतियोगिताको लागि टिसर्टको लोकार्पण समेत गरिएको छ ।

प्रकाशित मिति : ९ चैत्र २०७८, बुधबार  ६ : ३१ बजे