ताप्लेजुङ । ताप्लेजुङमा रहेको प्रसिद्ध धार्मिक स्थल पाथीभरामा तीन महिनाको अवधिमा ३३ लाख भन्दा बढी भेटी संकलन भएको छ । पाथीभरामा पूजापाठ गर्न पुगेका भक्तजनहरुले स्वेच्छाले चढाएको भेटीका रुपमा नगद ३३ लाख भन्दा बढी संकलन भएको हो ।
चालुु आर्थिक वर्षको साउन, भदौ र असोज महिनामा पाथीभराको दर्शन गरी चडाएको भेटी ३३ लाख २६ हजार ६५० रुपैयाँ संकलन भएको पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक प्रजिन हाङबाङले बताए ।
सो अवधिमा २० हजार ५२२ जना भक्तजनहरु पाथीभरामा पुगेर पूजापाठ गरेका छन् । पाथीभरा क्षेत्र विकास समितिका अनुसार आर्थिक वर्षका पहिलो महिना अर्थात साउनमा तीनलाख १८ हजार पाँचसय रुपैयाँ भेटी संकलन भएको थियो । सो महिनामा २ हजार ४६९ जना भक्तनहरुले पाथीभराको दर्शन गरेका थिए ।
६ हजार १२३ जना भक्तजनहरुले भदौ महिनामा दर्शन गर्दा २३ लाख ६७ हजार रुपैयाँ भेटी संकलन भएको थियो । त्यस्तै असोज महिनामा १६ लाख ४१ हजार १५० रुपैयाँ भेटी संकलन भएको छ । सो महिनामा ११ हजार ९३० जना भक्तजनहरुले पाथीभरामा पुगेर पूजापाठ गरेको थियो ।
तीन हजार सात सय ९४ मिटर उचाइमा रहेको पाथीभरा धाम पुग्न धरान–माझीटार हुँदै तमोर करिडोर वा झापाको बिर्तामोडबाट इलाम–पाँचथर हुँदै मेची राजमार्ग प्रयोग गर्न सकिन्छ ।
सुकेटारसम्म पक्की सडक रहेको छ भने काफ्लेपाटीसम्म कच्ची सडकले यात्रालाई चुनौतीपूर्ण बनाएको छ । त्यस्तै काठमाडौं—सुकेटार हावाईमार्ग समेत प्रयोग गर्न सकिने छ ।
क्षेत्र विकास समितिका अनुसार काफ्लेपाटीदेखि पाथीभरा पुग्न पाँच किलोमिटर पैदल यात्रा गर्नुपर्ने हुँदा श्रद्धालुहरूका लागि यात्रा विशेष बन्ने गरेको छ । पैदल मार्गलाई व्यवस्थित बनाउन विभिन्न स्थानमा पानी र हिउँबाट जोगिने फाइबर छाना राखिएका छन् ।








प्रतिक्रिया