Logo

मुख्य समाचार

सलमान खानसँगको भिडियो कन्फ्रेन्समा मन्त्री आलेले भने, ‘हम बहुत खुस हुआ’



काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेले चर्चित भारतीय बलिउड अभिनेता सलमान खानसँग भर्चुअल संवाद गरेका छन् । भर्चुअल संवाद कार्यक्रममा मन्त्री आलेले सलमानलाई नेपालमा स्वागत गर्न आतुर रहेको बताए । कोरोना महामारीका कारण नेपालको पर्यटन क्षेत्रमा असर परेको भन्दै अब सबै सामान्य भएको उनको भनाइ थियो ।

हिन्दीमा बोल्दै मन्त्री आलेले भने, ‘सलमानजी आप से मिलके हम बहुत खुस हुआ । हम आपको स्वागत करनेके लिए आतुर हे ।’ सलमानले पनि आलेसँग कुरा गर्न पाउँदा निकै खुसी लागेको बताए । आफूलाई नेपाल निकै मन पर्ने भन्दै उनले चाँडै नेपाल आउन लागेको बताए ।

मन्त्री आलेले सलमानलाई सगरमाथा आरोहणको निम्तासमेत दिएका छन् । जवाफमा सलमानले समय मिलाएर आफू सगरमाथा चढ्ने बताए । ‘तपाईलाई म विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहणका लागि आउनु आग्रह गर्दछु । यदि तपाईको समय मिल्यो भने म तपाईलाई हेलिकप्टरमार्फत सगरमाथाको आरोहण गराउन चाहन्छु। त्यसमा तपाईले सहयोग गर्नुपर्‍यो,’ मन्त्री आलेले भने ।

आलेले आफूले थुप्रै फिल्म हेरेको स्मरण गराए । नेपालमा स्वागत गर्न नेपाली जनता र सरकार तयार रहेको उनको भनाइ थियो । आफ्नो चलचित्रको प्रमोसनका लागि सलमान खान आगामी १४ जेठमा नेपाल भ्रमणमा आउँदैछन् । त्यसअघि नै मन्त्री आलेले सलमानसँग भर्चुअल कुराकानी गरेका हुन् ।

प्रकाशित मिति : ९ चैत्र २०७८, बुधबार  ५ : १३ बजे