काठमाडौं । पृथ्वीराजमार्गको नागढुंगा–मुग्लिन सडकखण्डअन्तर्गत कृष्णभीरमा १० दिनमै नयाँ ट्रयाक निर्माण गरिएको छ। बाढीका कारण अवरुद्ध सडकमा भदौ २८ गतेदेखि परीक्षणका रूपमा यातायात सञ्चालन भइरहेको छ भने असोज १ गतेदेखि दुईतर्फी यातायात सञ्चालन गर्ने तयारी गरिएको छ।
प्रधानमन्त्री वालेन्द्र शाहले भदौ १७ गते प्रतिनिधिसभामा सम्बोधन गर्दै कृष्णभीरमा अवरुद्ध सडक भदौभित्रै सञ्चालनमा ल्याउने घोषणा गरेका थिए। सोही घोषणाअनुसार पूर्वाधार विकास मन्त्रालयको नेतृत्वमा नयाँ ट्रयाक निर्माण गरिएको हो।
भदौ १० गते आएको बाढीले कृष्णभीरको सुरक्षा पर्खालमा क्षति पुर्याएको थियो। त्यसपछि भदौ १४ गते आएको अर्को बाढीले पर्खाल भत्काएपछि सडकखण्ड पूर्ण रूपमा अवरुद्ध भएको थियो।
सडक अवरुद्ध भएपछि पूर्वाधार विकास मन्त्रालयले सडक विभाग र नेपाल जियोटेक्निकल सोसाइटीका प्राविधिकको सहयोगमा चार दिनसम्म अध्ययन गरेको थियो। अध्ययनपछि विज्ञहरूले पहाड काटेर करिब २५० मिटर लामो नयाँ ट्रयाक निर्माण गर्न सुझाव दिएका थिए।
विज्ञहरूको सुझावअनुसार भदौ १९ गतेदेखि रुख कटान गरी ट्रयाक निर्माण सुरु गरिएको थियो। निर्माणका क्रममा करिब ३५ मिटर उचाइ र २० मिटर भित्रसम्म पहाड काटिएको छ।
ट्रयाक निर्माणमा प्राविधिकसहित ५० जना जनशक्ति दैनिक १२ देखि १६ घण्टासम्म खटिएका थिए। काम सुरु भएको १०औँ दिन भदौ २८ गतेदेखि ग्यास बुलेटसहित केही सवारीसाधन परीक्षणका रूपमा सञ्चालनमा आएका थिए।
हाल सडकमा ग्राभेल गर्ने, नाली निर्माण गर्ने र सडकलाई थप मजबुत बनाउने काम भइरहेको छ। ग्राभेलको काम भोलिसम्म सम्पन्न गरी असोज १ गते बिहानदेखि दुईतर्फी यातायात सञ्चालन गर्ने तयारी गरिएको छ।








प्रतिक्रिया