Logo

मुख्य समाचार

विपत्तिपछि पनि चीनको ग्यिरोङमै व्यवसाय पुनःसञ्चालनको तयारी गर्दै १३ सय नेपाली



काठमाडौं । चीनको स्वायत्त क्षेत्र सिजाङ (तिब्बत) अन्तर्गतको विपद्ग्रस्त ग्यिरोङ सहरमा रहेका एक हजार तीन सयभन्दा बढी नेपालीले बाढीपहिरोको ठूलो क्षतिपछि पनि त्यहीँ बसेर आफ्नो व्यवसाय पुनः सञ्चालन गर्ने निर्णय गरेका छन् ।

गत भदौ १० गते नेपालतर्फको उच्च हिमाली क्षेत्रमा हिमनदी भत्किएपछि आएको महाप्रलयले नेपाल–चीन सीमास्थित ग्यिरोङ नाकामा ठूलो क्षति पु¥याएको थियो । यो क्षेत्र नेपालको रसुवागढी नाकासँग जोडिएको चीन तर्फको व्यापारीक नाका हो ।

उक्त विपत्तिमा ग्यिरोङ काउन्टीमा कम्तीमा ४३ जनाको मृत्यु भएको छ भने ५१९ जना अझै बेपत्ता रहेको चिनियाँ अधिकारीहरूले बताएका छन् । खोज तथा उद्धार कार्य अझै जारी छ ।

विपत्तिपछि पनि त्यहाँ रहेका अधिकांश नेपाली व्यवसायीहरूले ग्यिरोङलाई आफ्नो रोजगारी, सपना र भविष्यसँग जोडिएको स्थानका रूपमा हेरेर फर्किनुभन्दा त्यहीँ बसेर पुनः व्यवसाय सञ्चालन गर्ने तयारी गरेका छन् ।

उक्त क्षेत्रमा गिफ्ट पसल र रेस्टुरेन्ट व्यवसाय सञ्चालन गर्दै आएका सागा छिरिङ तामाङले विपत्तिको खबर सुनेलगत्तै नेपालमा रहेका परिवारसँग सम्पर्क गर्न खोजेको अनुभव सुनाए । उनले चीन सरकारले खाद्यान्न, स्वास्थ्य सेवा र आवश्यक व्यवस्थापन उपलब्ध गराएको बताए ।

‘मैले घरमा चिन्ता नगर्नुस् भनें । यहाँ खाना, औषधि र सबै व्यवस्था राम्रो छ । आप्रवासन प्रहरी र अन्य अधिकारीहरूले पनि कुनै समस्या परे सिधै भन्नुस्, नेपाल फर्किन चाहनुहुन्छ भने पनि व्यवस्था गरिदिन्छौँ भनेर सहयोग गरेका थिए,‘ उनले भने ।

चाँदीका भाँडाकुँडा व्यवसाय सञ्चालन गर्दै आएका राजेन्द्र घतानीले ग्यिरोङ क्षेत्र आफ्ना लागि केवल काम गर्ने ठाउँ नभई आफ्नो आधार बनेको बताए । ‘मलाई यो सहरमा निकै सहज लाग्छ । यहाँ सुरक्षित महसुस हुन्छ,‘ उनले भने । उनका अनुसार ग्यिरोङमा रहेका धेरै नेपाली व्यवसायीहरूले यहीँबाट भविष्यमा चीनका अन्य ठूला सहरसम्म आफ्नो व्यापार विस्तार गर्ने सपना देखिरहेका छन् ।

रसुवाका नेपालीलाई कर छुट

तामाङका अनुसार ग्यिरोङ रसुवासँग जोडिएकाले नेपाली व्यवसायीलाई त्यहाँ व्यापार गर्न सहज वातावरण छ । ‘रसुवाका नेपालीलाई कर छुटको सुविधा छ । कम लगानीमा व्यवसाय गर्न सकिन्छ र दुई घण्टामै आफ्नो गाउँ पुग्न सकिन्छ । यही हाम्रो लागि सबैभन्दा ठूलो अवसर हो,‘उनले भने ।

शताब्दीयौंदेखि ग्यिरोङ नाका चीन र नेपालबीच व्यापार र जनस्तरको सम्बन्धको महत्वपूर्ण केन्द्र रहँदै आएको छ । महाप्रलयले त्यहाँका नेपाली व्यवसायीको व्यापारमा ठूलो धक्का पु¥याए पनि उनीहरूले ग्यिरोङलाई अझै पनि आफ्नो सपनाको भूमि मान्दै त्यहीँ बसेर नयाँ सुरुआत गर्ने अडान कायम राखेका छन् । सीसीटीभी प्लस

प्रकाशित मिति : २८ भदौ २०८३, आइतबार  १० : २४ बजे