Logo

खेलकुद

राजर्षि जनक कपः सुदूरपश्चिम सेमिफाइनलमा



सर्लाही । ट्राइब्रेकरमा गोल किपर चम्किदा सुदूरपश्चिम–११ सर्लाहीमा जारी छैठौँ राजर्षि जनक कप फुटबल प्रतियोगिताको अन्तिम चारमा प्रवेश गरेको छ ।

बागमती नगरपालिका–११, स्थित स्वर्गीय सन्तोष श्रेष्ठ स्मृति खेल मैदानमा सम्पन्न खेलमा सुदूरपश्चिम–११ ले ट्राइब्रेकरमा विभागीय टिम नेपाल पुलिस क्लबलाई पराजित गरेको हो । खेल अवधिभर दुबै टिमबाट गोल हुन नसकेपछि खेल ट्राइब्रेकरमा धकेलिएको थियो । ट्राइब्रेकरमा सुदूरपश्चिमले पुलिसलाई ७/६ गोल अन्तरले पराजित गरेको हो ।

ट्राइब्रेकरमा सुदूरपश्चिमका गोल रक्षक आकाश बुद्ध नायक सावित भए । गोल किपर आकाशले पुलिसका खेलाडी भोलानाथ सिलवाल र राम बाजीको पेनाल्टी रोकिदिएका थिए । आकाश आफैले प्रहार गरेको पेनाल्टी सहजै गोलमा परीणत गरे । दुबै टोलीले ५/५ पटकको पेनाल्टी प्रहार गर्दा ४/४ गोलको बराबरी भयो । त्यसपछि फेरि थप ३/३ पेनाल्टी प्रहार गरे । अन्ततः ट्राइब्रेकरमा ७/६ को नतिजा पुलिसले सुदूरपश्चिमलाई सुम्पिन बाध्य भयो ।

आकाश म्यान अफ दि म्याच घोषित हुँदै १० हजार प्राप्त गरे । जितसँगै सुदूरपश्चिम सेमिफाइनलमा ९ चैतको अन्तिम क्वाटरफाइन खेलको विजेतासँग भेट पक्का गरेको हो । अन्तिम क्वाटरफाइनल खेलमा विदेशी पाहुना टोली एभिनियर फुटबल क्लब क्यामरुन र ‘ए’ डिभिजन लिग च्याम्पियन मच्छिन्द्र क्लबबीच प्रतिस्पर्धा हुँदैछ ।

आज आयोजक बागमती युवा क्लब र न्युरोड टिम एनआरटीबीच प्रतिस्पर्धा हुनेछ । यस पहिलाको खेलमा केबिए ग्लोवल बिएफसी चितवनलाई पराजित गर्दै न्युरोड टिम एनआरटीले बागमती सँगको भेट पक्का गरेको हो ।

यस प्रतियोगिताको विजेता टिमले राजर्षि जनक कप १० लाख १ हजार र उपविजेताले ५ लाख १ सय र शिल्ड प्राप्त गर्ने छन् ।

प्रकाशित मिति : ८ चैत्र २०७८, मंगलबार  ८ : ३७ बजे