Logo

Breaking News 1

दुई जना अध्यक्ष बन्ने सहमतिमा टुंगियो एनआरएनएको विवाद



काठमाडौं । गैरआवासीय नेपाली संघ एनरआएनएको विगत ६ महिनायता जारी विवाद दुई जना अध्यक्ष बन्ने सहमतिमा टुंगो लागेको छ । सहमतिको प्रयासस्वरुप गएराति अबेरसम्म भएको दुई पक्षीय वार्तामा दुई अध्यक्षात्मक प्रणालीसहित महत्त्वपूर्ण पदहरू थप्ने सहमति गरेर विवाद टुङ्ग्याइएको हो ।

सहमतिअनुसार कुल आचार्य र बद्री केसी अध्यक्ष बन्ने बताइएको छ । जसमा पहिलो १ वर्ष कुल आचार्यले बैठकको अध्यक्षता गर्ने र त्यसपछि बद्री केसीले गर्ने समझदारी भएको दाबी गरिएको छ । यस्तै अध्यक्षमा उम्मेदवारी दिएकी रविना थापालाई अन्य पदमा सम्मानजनक हैसियत दिने गरी सहमति भएको बताइएको छ । सहमतिबारे आजै कुल आचार्य र बद्री केसीले एनआरएनएको कार्यालयमा संयुक्त पत्रकार सम्मेलन गर्दैछन् ।

एनआरएनएलाई जोगाउन दुवै पक्षमा छलफलमा बसेर सहमति जुटाइएको भन्दै अब शेष घले पक्षले मार्च २४ र २५ मा गर्ने भनिएको छुट्टै महाधिवेशन रोकिने बताए । यस्तै अदालतमा रहेको मुद्दा पनि फिर्ता लिएर तोकिएकै समय २४ र २५ तारिकको चुनाव र त्यसपछिको महाधिवेशन एकताको महाधिवेशनको रूपमा गरिने बताइएको छ ।

संस्थापनले प्रतिनिधिमा छनोटमा धाँधली गरेको भन्दै कुल आचार्य पक्षले परराष्ट्र मन्त्रालयमा उजुरी गरेपछि एनआरएनएमा विवाद रहँदै आएको थियो । विवादकै कारण गत अक्टोबरमा हुने भनिएको महाधिवेशन स्थगित हुँदै आएको थियो ।

विवादले उग्र रूप लिँदै गर्दा शेष घलेको नेतृत्वमा काठमाडौँमा कुल आचार्य पक्षको छुट्टै महाधिवेशनको घोषणा गरिएको थियो ।

प्रकाशित मिति : ८ चैत्र २०७८, मंगलबार  ८ : ०४ बजे