भैरहवा । दैनिक सरदर दुई सयभन्दा बढी सेवाग्राही आउने भैरहवास्थित सेवा कार्यालय स्थानान्तरण गर्दा एक सातादेखि सेवाग्राही भौँतारिनु परेको छ ।
रुपन्देहीसहित कपिलवस्तु र नवलपरासीका सेवाग्राहीलाई सहज होस भन्दै ६ वर्षअघि स्थापना गरिएको कार्यालय अपायक ठाउँ भित्री क्षेत्रमा सार्दा असहज भएको हो । जसोतसो भैरहवा स्थापना गरिएको यातायात व्यवस्था सेवा कार्यालय भैरहवा मुख्य राजमार्गबाट स्थानान्तरण गरी भित्री ठाउँ हाइवेभन्दा दुई सय मिटरभित्र गोलिगढमा सारिएको छ ।
सरकारी कार्यालय जनताको माग, वास्तविक आवश्यकता र प्रक्रियारत सरलीकरणका लागि पायक पर्ने ठाउँमा हुनु पर्ने हुन्छ । कार्यालय सार्दा पनि यथेष्ट जानकारीसहितको सूचना दिनुपर्छ ।
रुट पर्मिट र जाँचपास नवीकरण सेवा लिन आउने व्यक्ति प्राय नौलो नै हुन्छन् । यस्ता सेवा कार्यालयहरू त मुख्य वा सहायक राजमार्गको दाहिनेतर्फ सबैले आगन्तुकले पनि देखिने ठाउँमा हुनुपर्छ । तर, वर्षौदेखि सेवा दिइरहेको कार्यालय सार्दा प्रस्ट रूपमा तथा संकेत राखेर पायक पर्ने ठाउँमा स्थानान्तरण गर्नुपर्छ । यातायात व्यवस्था सेवा कार्यालय राजमार्गबाट भित्र गोलिगढ लैजाँदा फोटोकपी पेपरको भरमा कार्यालय सरेको सूचना मात्रै राखेर सेवाग्राहीलाई सास्ती दिइरहेको छ । कार्यालय कहाँ गयो, कसरी जाने भन्ने संकेत छैन ।
कार्यालयको वेबसाइटमा पनि कुनै सूचना अपडेट छैन । सूचना प्रविधिको समयमा कार्यालयले वेबसाइट त राखेको छ तर वेबसाइटमा कार्यालयको नाम र सेवा दिने सरकारी समय बाहेक केही जानकारी छैन । कार्यालय प्रमुख, सूचना अधिकारी र कर्मचारीको विवरण अनिवार्य हुनुपर्नेमा सूचना र गतिविधि, हाम्रो बारेमा भन्ने केही पनि छैन, लोकेसन म्यापमा पनि काठमाडौंको यातायात विभाग देखाइएको छ ।
पटके र रुट पर्मिटका लागि अधिकांश भारतीय र बुटवल भैरहवा बर्दघाट कपिलवस्तुबाट सयको हाराहारीमा, त्यस्तै जाँचपास र नवीकरणका लागि पनि सोही हाराहारीमा सेवाग्राही आउने गरेका छन् । दैनिक ८ देखि १५ लाख राजश्व उठाउने कार्यालयले दर्ता भएको नवीकरणको काम मात्रै गर्दै आएको छ ।
कार्यसम्पादनमा समस्या भएको भन्दै कार्तिकमा घर भाडाका लागि सार्वजनिक सूचना निकालेर चैत १ गतेबाट कार्यालय सिद्धार्थनगर र ओमसतियाको सीमाबाट पूर्वतर्फ गोलिगढ सरेको छ । ६ वर्षदेखि सञ्चालनमा रहेको भवन जीर्ण तथा पुरानो भएको, पूर्वाधारको समस्या र वर्षायाममा डुबानको समस्या रहेको भन्दै कार्यालय नयाँ ठाउँमा स्थानान्तरण गरिएको कार्यालय प्रमुख अधिकृत ईश्वरीप्रसाद अर्यालले भने ।
हामीले राजमार्ग नजिकै पायक पर्ने ठाउँको खोजिएको हो । ६ जनाले टेण्डर दिँदा ३ जनाको कागजात नै पूरा थिएन, बाँकी तीन जना मध्ये कसैको साँगुरो, पार्किङ नभएकोले पाएपछि भाडा निर्धारण समितिले गोलिगढ सार्नु पर्ने विकल्प मात्र रहेकोले यही सारिएको बताए ।
कार्यालय प्रमुख अर्यालले सूचना टाँस गरे पनि निकालेर फाल्दिएकोले समस्या आएको छ, अर्को सूचना टाँस गर्न लगाएका छौ, वेबसाइट पनि अपडेट गर्नका लागि प्रक्रिया अगाडि बढाएका बताए ।
प्रतिक्रिया