Logo

मुख्य समाचार

नेपाली कांग्रेस केन्द्रीय नीति प्रतिष्ठानद्वारा महिला उद्यमशीलता सम्मेलन आयोजना गर्ने निर्णय


२८ श्रावण २०८३, बिहिबार  

46
Shares

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको सातौँ बैठकले महिला उद्यमशीलता सम्मेलन आयोजना गर्नेलगायत विभिन्न निर्णय गरेको छ ।

पार्टीका उपसभापति तथा प्रतिष्ठान प्रमुख विश्वप्रकाश शर्माको अध्यक्षतामा आज बसेको बैठकले आगामी भदौ ११ गते नेपाली कांग्रेस केन्द्रीय कार्यालय परिसरमा महिला उद्यमशीलता सम्मेलन आयोजना गर्ने निर्णय गरेको हो ।

सम्मेलनमा स्टार्टअप तथा साना तथा मझौला उद्यम क्षेत्रमा संलग्न महिला उद्यमीहरूको सहभागिता रहनेछ । महिला उद्यमीलाई एउटै साझा मञ्चमा ल्याएर अनुभव आदानप्रदान, लगानीकर्तासँग भेटघाट, सरकारी निकायसँग समन्वय, नयाँ बजारको खोजी तथा प्रेरणादायी वातावरण निर्माण गर्ने उद्देश्यले सम्मेलन आयोजना गर्न लागिएको प्रतिष्ठानले जनाएको छ ।

त्यस्तै, बीपी स्मृति दिवसका अवसरमा गत साउन ६ गते आयोजना गरिएको ग्रीन रन प्रतियोगिताअन्तर्गत महिलातर्फको दौड आगामी भदौ ६ गते पुनः सञ्चालन गर्ने निर्णय बैठकले गरेको छ । प्राविधिक कारणले उक्त दिन महिला दौडको विजेता घोषणा गर्न नसकिएको भन्दै पुनः दौड सञ्चालन गर्न लागिएको हो । यसमा यसअघि दर्ता भइसकेका सहभागीका साथै नयाँ इच्छुक महिलालाई समेत सहभागी गराइनेछ ।

बैठकले प्रतिष्ठानका सदस्य राकेश सिंहको संयोजकत्वमा समुदाय पहुँच उपसमिति पनि गठन गरेको छ । उपसमितिको सहजीकरण नेपाली कांग्रेसकी केन्द्रीय सदस्य डा. अमिता प्रधानले गर्नेछिन् । प्रतिष्ठानको सातौँ बैठक भदौको पहिलो साता पुनः बस्ने गरी स्थगित गरिएको छ ।

प्रकाशित मिति : २८ श्रावण २०८३, बिहिबार  ३ : २३ बजे