Logo

अर्थ

साउनदेखि नयाँ तलबमान लागू, मुख्य सचिवको आधारभूत तलब ८४ हजार ९३२ रुपैयाँ


२१ श्रावण २०८३, बिहिबार  

23
Shares

काठमाडौं– अर्थ मन्त्रालयले चालु आर्थिक वर्ष २०८३/८४ का लागि साउनदेखि लागू हुने सरकारी कर्मचारीको नयाँ तलबमान सार्वजनिक गरेको छ।

मन्त्रालयले बुधबार सरकारी निकायहरूलाई पत्राचार गर्दै मन्त्रिपरिषद्को साउन ६ गतेको निर्णयअनुसार नयाँ तलबमान, ग्रेड, प्राविधिक ग्रेड तथा १० प्रतिशत प्रोत्साहन भत्ता कार्यान्वयनबारे जानकारी गराएको हो। सरकारले जेठ १५ गते प्रस्तुत गरेको बजेटमार्फत सरकारी कर्मचारीको तलब १० प्रतिशतले वृद्धि गर्ने तथा १० प्रतिशत प्रोत्साहन भत्ता उपलब्ध गराउने घोषणा गरेको थियो।

नयाँ व्यवस्था अनुसार निजामती कर्मचारी, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाल स्वास्थ्य सेवा, संसद् सेवा, सामुदायिक विद्यालयका शिक्षक तथा प्रदेश र स्थानीय तहका कर्मचारीले निवृत्तभरण प्रयोजनका लागि निर्धारण गरिएको नयाँ तलबमान, एक दिनको तलब बराबरको ग्रेड रकम तथा वृद्धि भएको तलबमानको १० प्रतिशत मासिक प्रोत्साहन भत्ता पाउनेछन्।

अर्थ मन्त्रालयका अनुसार मुख्य सचिवको प्रारम्भिक तलब ८४ हजार ९३२ रुपैयाँ कायम गरिएको छ। त्यसैगरी राजपत्राङ्कित विशिष्ट श्रेणीको ७९ हजार २९० रुपैयाँ, अतिरिक्त सचिव (पेन्सन प्रयोजन) को ६६ हजार ५३९ रुपैयाँ, राजपत्राङ्कित प्रथम श्रेणीको ६२ हजार ४६६ रुपैयाँ, राजपत्राङ्कित द्वितीय श्रेणीको ५३ हजार ६११ रुपैयाँ र राजपत्राङ्कित तृतीय श्रेणीको ४८ हजार ५८ रुपैयाँ तोकिएको छ।

राजपत्र अनङ्कित प्रथम अतिरिक्त मान (पेन्सन प्रयोजन) को तलब ४१ हजार ५१७ रुपैयाँ, राजपत्र अनङ्कित प्रथमको ३८ हजार २०३ रुपैयाँ, राजपत्र अनङ्कित द्वितीय अतिरिक्त मान (पेन्सन प्रयोजन) को ३७ हजार ४०७ रुपैयाँ, राजपत्र अनङ्कित द्वितीयको ३६ हजार १९२ रुपैयाँ, राजपत्र अनङ्कित तृतीयको ३० हजार ३७३ रुपैयाँ तथा राजपत्र अनङ्कित चतुर्थको २८ हजार ६९० रुपैयाँ कायम गरिएको मन्त्रालयले जनाएको छ।

प्रकाशित मिति : २१ श्रावण २०८३, बिहिबार  १२ : २५ बजे