Logo

मुख्य समाचार

स्थानीय निर्वाचन : आफूले बहुमत ल्याउने सबै दलको दाबी



महोत्तरी । नेपाली कांग्रेस महोत्तरीका जिल्ला सभापति नागेश्वर यादवले एउटा सार्वजनिक कार्यक्रममा आफूहरूले स्थानीय तहको निर्वाचनमा ८० प्रतिशत जित्ने दाबी गरे । अघिल्लो निर्वाचनको भन्दा सांगठनिक संरचना निक्कै बलियो भएको जिकिर गर्दै उनले जिल्लाका १५ पालिकामध्ये १२ मा जित हासिल गर्ने विश्वास व्यक्त गरे ।

यादवको जस्तै जिल्लामा आफ्नो स्थानको विषयमा दाबी गर्ने नेताहरूको अहिले तछाडमछाड नै चलेको छ । एमाले जिल्ला इन्चार्ज तथा केन्द्रीय सदस्य टेकबहादुर बलाम्पाकी मगरले ५० प्रतिशत स्थानीय तह आफ्नो पार्टीको पोल्टामा पर्ने जिकिर गरे । एमाले फुटेर नेकपा एस बनेको भए पनि एमालेको कुनै पनि मत नकाटिने नेता बलाम्पाकीको ठोकुवा छ । माओवादी केन्द्रबाट समेत जिल्लाका केही प्रभावशाली नेताहरू एमालेमा प्रवेश गरेको हुनाले जिल्लामा आफूहरु दोस्रो हुने बलाम्पाकीको भनाइ छ ।

माओवादी केन्द्रको पनि उस्तै दाबी छ ।अघिल्लो निर्वाचनमा तीनवटा पालिकामा जित हासिल गरेको माओवादीले यो निर्वाचनमा सात पालिकामा जित हासिल गर्ने बताउँदै आएको छ । ‘हाम्रा चुनाव लक्षित कार्यक्रम अगाडि बढिसकेको छ, जिल्ला कार्यसमितिको सर्वेक्षणमा हामी यसपालि सात पालिकामा जित्छौं’, माओवादी केन्द्र महोत्तरीका इन्चार्ज राजु खड्काले भने, ‘व्यक्ति र मतदाताका हिसावले हामी सात पालिकामा बलियो छौ ।’

अघिल्लो निर्वाचनमा जिल्लामा बहुमत ल्याएको तत्कालीन राजपा अहिलेको जसपाले पनि यसपटक आफूहरूको पोजिसन राम्रो हुने बताउँदै आएको छ । अघिल्लो निर्वाचनमा उसले जिल्लाका आठवटा पालिकामा जित हासिल गरेको थियो ।

अघिल्लो निर्वाचनमा आठ पालिकामा तत्कालीन राजपा, तीन पालिकामा माओवादी केन्द्र, तीन पालिकामा कांग्रेस र एक पालिकामा संघीय समाजवादी फोरमले जितेका थियो । उपनिर्वाचनमा एमालेले पिपरा गाउँपालिकामा जिते पनि उसको स्थान निक्कै कमजोर थियो ।

यसपालि नेताहरूले दाबी गरेजस्तो महोत्तरीमा कसैको पनि माहोल छैन । कांग्रेस विवाद नै विवादले थिलथिलो बनेको छ । आन्तरिक कलह र कायम नै छ । महोत्तरीमा पार्टीभित्रको अन्तर्द्वन्द्व र निर्वाचनको वेला हुने अन्तर्घातले जित्ने ठाउँमा पनि हारिरहेको स्विकार गर्छन् नेता चिरन्जीवी हमाल । उनी भन्छन्, ‘हाम्रा साथीहरूले हामीभित्रै एकता हुन नसक्दा पराजय व्यहोर्नुपरेको अवस्था छ’, उनले भने ।

एमालेको त समानान्तर कमिटी नै गठन भएको छ । पार्टीभित्रको तीव्र मतभेदले जिल्लामा अहिलेसम्म अधिवेशन हुन सकेको छैन । नेताहरूको बीचको कलह उत्कर्षमा पुगेको छ । नेताहरूबीचको लडाइँले जिल्लामा सांगठनिक संरचनासमेत कमजोर बनेको छ । अझ पहिलेको निर्वाचनजस्तो बलाम्पाकीले भनेजस्तो जिल्लामा ५० प्रतिशत जित हासिल गर्न त्यति सजिलो छैन ।

माधव नेपाल पक्षधरहरूले जिल्लामा पकड बनाउँदै लगेका छन् । जिल्लाका प्रभावशाली नेता भनेर चिनिने सुरेश राउत, सोमबहादुर कार्की, मीन रापाल नेकपा एसमा छन् ।

माओवादी केन्द्रको अवस्था पहिलेको जस्तो छैन । जनप्रतिनिधि तथा वडाध्यक्षसहित आधा दर्जन नेताले पार्टी नै परित्याग गरिसकेका छन् । एमसीसीको विषयलाई लिएर नेताहरू विभाजित बनेका छन् ।
जसपाभित्र पहिलेको जस्तो माहोल छैन । नेताहरूबीचको अन्तरकलहले एमालेको जस्तै पार्टी अहिले टुक्रा(टुक्रा बनेको छ । महन्थ ठाकुर, उपेन्द्र यादव जस्ता नेताहरूबीचको अन्तर्द्वन्द्वका कारण अहिले जसपा फुटेर लोसपा बनेको छ । जसपा र लोसपा एकले अर्कोलाई जसरी पनि हराउने अभियानमा लागेका छन् ।

प्रकाशित मिति : ६ चैत्र २०७८, आइतबार  २ : २८ बजे