Logo

विश्व

कोरोना सङ्क्रमणको सङ्ख्यामा वृद्धि, महामारी अन्त्य हुन अझै धेरै समय लाग्ने



काठमाडौं । थुप्रै देशहरूमा कोरोना सङ्क्रमणको सङ्ख्यामा वृद्धि भएसँगै विश्व स्वास्थ्य संगठनले महामारी अन्त्य हुन अझै धेरै समय लाग्ने चेतावनी दिएको छ । दक्षिण पूर्वी एसियाली राष्ट्रहरूमा कोरोना सङ्क्रमितको सङ्ख्या बढ्दो क्रममा रहेको छ । ओमिक्रोन भेरियन्टका कारण चीनमा फेरि सङ्क्रमितको सङ्ख्यामा उल्लेख्य वृद्धि देखिएको छ । सन् २०२१ को जनवरीपछि चीनमा यो हप्ता पहिलोपटक कोरोना सङ्क्रमितको मृत्यु भएको छ ।

डेल्टा र ओमिक्रोन भेरियन्टका कारण चीनसहित हङकङ, सिंगापुर र दक्षिण कोरिया लगायतका देशहरुको सङ्क्रमण बढेको बताइएको छ । सिंगापुरमा शनिबार थप १० हजार २४४ जनामा सङ्क्रमण पुष्टि भएको थियो । त्यस्तै हङकङमा एकै दिन १६ हजार ५९७ जना सङ्क्रमित थपिएका छन् ।

यता, बेलायतले चौथो चरणमा कोरोनाविरुद्धको खोप दिने तयारी गरेको नेसनल हेल्थ सर्भिस (एनएचएस) ले जनाएको छ । बेलायतमा २० जनामा १ जना ओमिक्रोन भेरियन्टबाट सङ्क्रमित रहेको बताइएको छ ।

प्रकाशित मिति : ६ चैत्र २०७८, आइतबार  १० : ०५ बजे