Logo

समाचार

गणेश नेपाली प्रकरण : गृहमन्त्रीले सोधे ‘घटनास्थलमा कुन दलको सरकार छ ?



काठमाडौं । गृहमन्त्री सुधन गुरुङ प्रतिनिधिसभाको बैठकमा विशेष समय लिएर बोल्ने क्रममा भावुक बनेका छन् ।

राहदानी विभाग अगाडि आत्मदाहको प्रयास गरी उपचारका क्रममा निधन भएका गणेश नेपालीको घटनालाई लिएर संसदमा उठेका प्रश्नहरूको जवाफ दिने क्रममा उनी केहीबेर बोल्न नसकी भावुक देखिएका हुन् ।

संसदमा उठेका प्रश्नहरूको प्रतिवाद गर्दै गृहमन्त्री गुरुङले मुखले मात्रै सेवाको कुरा गर्ने समय सकिएको बताए । उनले भने, ‘घाँटी चिच्याएर मात्रै हुँदैन, जनताको सेवा गर्छु भनेर मुखले बोलेर मात्र पुग्दैन । त्यो मुखले बोलेको ५० औं वर्ष भइसक्यो, अब हामीले हातले काम गर्नुपर्छ । आफ्नो जनताको सेवा गर्नुपर्छ।’

गृहमन्त्री गुरुङले घटनास्थलमा भएको अवस्थाबारे प्रश्न उठाउँदै स्थानीय र प्रदेश सरकारको भूमिकाबारे पनि ध्यानाकर्षण गराए ।

उनले घटनास्थलमा ट्राफिक प्रहरीले ह्वील लक गरेको विषयमा प्रश्न उठाउँदै त्यसको जिम्मेवारी स्थानीय तहको कानुन र व्यवस्थापनसँग जोडिएको बताए ।

उनले भने, ‘एउटा संघीय सरकार, प्रदेश सरकार र अर्को स्थानीय सरकार हुन्छ । जुन ठाउँमा घटना घट्यो, त्यो ठाउँमा ट्राफिकले ह्वील लक गरेको होइन । कुनै भिडियोमा ट्राफिकले ह्वील लक गरेको देखिन्छ ?’

गृहमन्त्री गुरुङले विपक्षी दलतर्फ संकेत गर्दै स्थानीय र प्रदेश सरकारमा पनि उनीहरूको भूमिका रहेको दाबी गरे । उनले भने, ‘स्थानीय सरकार कसको छ अहिले ? प्रदेश सरकार कसको छ अहिले ? दुई तहको सरकार त तपाईंहरूसँगै छ । यो नियम कानुन कसले बनाएको हो ? तपाईंहरूले बनाएको कानुन हामीले पालना गरेका हौं ।’

संसदमा भावुक हुँदै बोलेका गृहमन्त्री गुरुङले सरकार सञ्चालन केवल भाषणबाट नभई जनताको समस्यामा पुगेर समाधान गर्नुपर्ने बताए । उनले जनताको पीडा बुझ्न आफूहरू प्रत्यक्ष रूपमा घटनास्थलमा पुग्ने गरेको उल्लेख गर्दै त्यसलाई स्टण्टबाजीको रूपमा नलिन आग्रह गरे ।

गृहमन्त्री गुरुङले अस्पतालमा पुगेर पीडितको अवस्थाबारे जानकारी लिने विषयमा पनि विपक्षी दलका सांसदहरूसँग प्रश्न गरे । उनले घटनापछि अस्पताल पुगेका सांसदहरूको संख्या र भूमिकाबारे जवाफ मागेका थिए ।

उनले भने, ‘म यो सम्मानित सदनलाई सोध्न चाहन्छु, हिजो हस्पिटलमा तपाईंहरू कति जना पुग्नुभएको थियो ? जो यहाँ घाँटी चिच्याएर कराउनुभएको छ, उहाँहरूमध्ये को–को त्यहाँ हुनुहुन्थ्यो ? ’

प्रकाशित मिति : २६ असार २०८३, शुक्रबार  ४ : ५२ बजे