काठमाडौं । पर्साको ठोरीमा भारतीय पर्यटकका सवारीसाधनको प्रवेश रोकिएपछि प्रभावित बनेको पर्यटन व्यवसायलाई तत्काल राहत दिने उद्देश्यले सरकारले अस्थायी व्यवस्था लागू गरेको छ ।
प्रतिनिधिसभामा नेपाली कांग्रेसकी सांसद सीता थपलिया (उर्मिला) ले विषय उठाएलगत्तै वीरगञ्ज भन्सार कार्यालयले ठोरी छोटी भन्सारमा कर्मचारी खटाएर भारतीय सवारीसाधनका लागि अस्थायी प्रवेश पास वितरण सुरु गरेको हो।
सांसद थपलियाले असार २२ गतेको प्रतिनिधिसभा बैठकमा ठोरीको पर्यटन व्यवसाय भारतीय सवारीसाधनको आवागमन रोकिएपछि गम्भीर संकटमा परेको भन्दै सरकारको ध्यानाकर्षण गराएकी थिइन्।
उनले छोटी भन्सार कार्यालयमा कर्मचारी नहुँदा पर्यटकका सवारीसाधनलाई सहज रूपमा भन्सार प्रक्रिया पूरा गराएर प्रवेश गराउनुपर्नेमा उल्टै फर्काइएको भन्दै तत्काल कर्मचारी व्यवस्थापन गरी नियमित भन्सार सेवा सञ्चालन गर्न माग गरेकी थिइन्।
संसदमा उठेको उक्त विषयपछि वीरगञ्ज भन्सार कार्यालयले असार २३ गतेदेखि ठोरी छोटी भन्सार कार्यालयमा एक जना सुब्बा र एक जना कार्यालय सहयोगी गरी दुई जना कर्मचारी खटाएको छ।
वीरगञ्ज भन्सार कार्यालयका सूचना अधिकारी तथा भन्सार अधिकृत उदयसिंह विष्टका अनुसार ठोरीबाट भारतीय सवारीसाधनलाई निःशुल्क अस्थायी प्रवेश पास उपलब्ध गराउन थालिएको छ। हालका लागि उक्त पास लिएर आएका सवारीसाधन ठोरी क्षेत्रभित्र मात्र सञ्चालन गर्न पाउने व्यवस्था गरिएको उनले बताए।
उनका अनुसार दीर्घकालीन व्यवस्थाका विषयमा अर्थ मन्त्रालयसँग आवश्यक समन्वय भइरहेको छ । यस सम्बन्धमा मन्त्रालयलाई जानकारी गराइसकिएको र थप निर्णय आएपछि सोहीअनुसार व्यवस्था लागू गरिने उनले जानकारी दिए।
यसअघि असार १९ गतेदेखि सशस्त्र प्रहरीले ’माथिको आदेश’ भन्दै भारतीय नम्बर प्लेटका निजी सवारीसाधनलाई नेपाल प्रवेशमा रोक लगाएपछि ठोरीको पर्यटन व्यवसाय प्रभावित बनेको थियो। त्यसपछि स्थानीय पर्यटन व्यवसायीले विरोध जनाउँदै प्रमुख जिल्ला अधिकारीसमक्ष ज्ञापनपत्र बुझाएका थिए भने पर्यटन व्यवसायमा परेको असर तत्काल हटाउन माग गरेका थिए।
पछिल्ला वर्षहरूमा ठोरी मधेस प्रदेशकै प्रमुख पर्यटकीय गन्तव्यका रूपमा विकास हुँदै गएको छ। विशेषगरी भारतीय पर्यटकलाई लक्षित गरी दर्जनौं होटल, रिसोर्ट तथा अन्य पर्यटन पूर्वाधार सञ्चालनमा आएका छन्। पर्यटनकै कारण स्थानीय स्तरमा सयौंले प्रत्यक्ष रोजगारी पाएका छन् भने व्यापारिक गतिविधिसमेत उल्लेख्य रूपमा विस्तार भएको छ।
दैनिक दुई सयभन्दा बढी निजी भारतीय सवारीसाधनमार्फत पर्यटक ठोरी पुग्ने गरेका कारण स्थानीय अर्थतन्त्रमा पर्यटनको महत्वपूर्ण योगदान रहेको व्यवसायीहरू बताउँछन्। यही कारण सवारीसाधनको प्रवेश रोकिँदा होटल, रिसोर्ट, रेष्टुरेन्ट, यातायात तथा अन्य पर्यटनसँग सम्बन्धित व्यवसायमा प्रत्यक्ष असर परेको थियो।
अब अस्थायी पासको व्यवस्था सुरु भएसँगै भारतीय पर्यटकको आवागमन पुनः सहज हुने अपेक्षा गरिएको छ। पर्यटन व्यवसायीहरूले भने दीर्घकालीन रूपमा स्पष्ट नीति बनाएर भारतीय पर्यटकका सवारीसाधनको सहज प्रवेश सुनिश्चित गर्न सरकारसँग माग गरेका छन्।








प्रतिक्रिया