Logo

समाचार

सांसदको कार्यसम्पादन र उपस्थितिको डिजिटल अभिलेख राखिने, एआईको दुरुपयोग र साइबर अपराधबारे छलफल



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टीलाई थप प्रविधिमैत्री बनाउने अभियानअन्तर्गत सांसदहरूको कार्यसम्पादन र गतिविधिको डिजिटल अभिलेख राख्ने प्रणाली निर्माण गरिरहेको जनाएको छ ।

शुक्रबार प्रतिनिधिसभा सदस्यहरूलाई पार्टीले विकास गरिरहेको डिजिटल प्रणालीबारे जानकारी गराउने तथा साइबर सुरक्षासम्बन्धी सचेतना अभिवृद्धि गर्ने उद्देश्यले आयोजित बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै रास्वपाकी सांसद क्रान्ति शिखा धितालले उक्त जानकारी दिएकी हुन्।

उनका अनुसार पछिल्लो समय कृत्रिम बुद्धिमत्ता (एआई) प्रविधिको तीव्र विस्तारसँगै सामाजिक सञ्जालमा विभिन्न प्रकारका भ्रामक सामग्री र दुरुपयोग बढ्दै गएको विषयमा बैठकमा गम्भीर छलफल भएको थियो।

धितालले भनिन्, ‘आजभोलि सामाजिक सञ्जालमा विशेषगरी एआई प्रविधिको प्रभाव र दबाब बढेको देखिन्छ । यसको प्रभावकारिता कस्तो छ र त्यसबाट उत्पन्न चुनौतीलाई कसरी समाधान गर्न सकिन्छ भन्ने विषयमा छलफल गरेका छौं।’

उनले पार्टीले निर्माण गरिरहेको डिजिटल प्रणालीमार्फत सांसदहरूको कार्यशैली, गतिविधि, जिम्मेवारी निर्वाह र कार्यसम्पादनलाई व्यवस्थित रूपमा अभिलेखीकरण गरिने बताइन्।

यसले सांसदहरूको ‘ट्र्याक रेकर्ड’ राख्न तथा कार्यसम्पादन मूल्याङ्कनका सूचक (प्यारामिटर) तयार गर्न सहज हुने उनको भनाइ थियो।

सांसद धितालले साइबर अपराधविरुद्ध नीतिगत रूपमा काम गरिरहे पनि सबैभन्दा महत्वपूर्ण पक्ष नागरिक तथा जनप्रतिनिधिमा सचेतना बढाउनु रहेको उल्लेख गरिन् । 

उनले भनिन्, ‘सबैभन्दा पहिले हामीमाथि साइबर अपराध भइरहेको छ भन्ने कुरा बुझ्न आवश्यक छ । साइबर अपराधको असर र त्यसपछि आउने परिणामबारे धेरैलाई जानकारी हुँदैन, थाहा भएपनि खुलाएर भन्न सक्ने अवस्था हुँदैन। त्यसैले सचेतना अत्यन्त आवश्यक छ।’

प्रकाशित मिति : १९ असार २०८३, शुक्रबार  ५ : ३५ बजे