एजेन्सी । स्पेनमा लगातार गर्मीको लहर (हीटवेभ) का कारण तापक्रमले नयाँ कीर्तिमान बनाएको छ । जसका कारण स्थानीय बासिन्दाहरू अत्यधिक गर्मीसँग जुध्न बाध्य भएका छन्।
स्पेनी मौसम विज्ञान एजेन्सीको प्रतिवेदनअनुसार, सोमबार देशभर रहेका ८२८ मौसम मापन केन्द्रमध्ये १०० भन्दा बढी केन्द्रहरूमा तापक्रम ४० डिग्री सेल्सियस वा सोभन्दा माथि पुगेको थियो।
तापक्रमको असर दक्षिणी क्षेत्रहरू मात्र नभई सामान्यतया चिसो मानिने उत्तरी भागहरूलाई पनि प्रभावित गरेको छ। सबैभन्दा उच्च तापक्रम दक्षिणी सहर अन्दुहारमा मापन गरिएको थियो, जहाँ तापक्रम ४५.१ डिग्री सेल्सियस पुगेको थियो।
मंगलबार उत्तरी तटीय क्षेत्र क्यान्टाब्रियाको तामा नगरमा ४३.७ डिग्री सेल्सियस तापक्रम रेकर्ड गरिएको थियो, जुन उक्त क्षेत्रमा अहिलेसम्मकै सबैभन्दा उच्च तापक्रम हो।
स्पेनका धेरै भागहरूमा देखिएको यो असामान्य गर्मी अफ्रिकाको सहारा मरुभूमिबाट आएको तातो र सुख्खा हावाको ठूलो समूह तथा जुन महिनाको अन्त्यतिर हुने तीव्र सूर्य विकिरणका कारण भएको हो। हाल देशको लगभग सम्पूर्ण भागमा गर्मीको लहरको चेतावनी दिइएको छ ।
स्पेनको राजधानी तथा सबैभन्दा घना जनसंख्या भएको क्षेत्रमध्ये म्याड्रिड पनि चर्को गर्मीको मारमा परेको छ।
अत्यधिक गर्मीका कारण आवातजावत गर्ने मानिसहरूको संख्या उल्लेखनीय रूपमा घटेको देखिएको छ ।
बढ्दो तापक्रमका कारण एयर कन्डिसनरजस्ता चिसो बनाउने उपकरणहरूको माग पनि तीव्र रूपमा बढेको छ। ग्राहकहरूले एयर कन्डिसनर जडान गराउनका लागि हप्तौँसम्म पर्खिनुपरेको छ।
म्याड्रिडका एक विक्रेताले भने, ‘यस वर्ष अप्रिल र मे महिनामा एयर कन्डिसनरको बिक्री गत वर्षको सोही अवधिको तुलनामा झण्डै तीन गुणाले बढेको छ।’
स्पेनका मौसमविद्हरूले यस गर्मीयाममा देशका अधिकांश भागहरूमा औसतभन्दा बढी तापक्रम रहने र चट्याङसहितको आँधी तथा वर्षाको घटनामा पनि वृद्धि हुन सक्ने पूर्वानुमान गरेका छन्।(सीसीटीभीप्लस)








प्रतिक्रिया